काठमाडौँ । हिमाल आरोही पुर्णिमा श्रेष्ठले एकै सिजनमा तेश्रो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै विश्व किर्तिमान कायम गरेकी छिन् ।
फोटो पत्रकार समेत रहेकी श्रेष्ठले आज बिहान सम्म गरि एकै सिजनमा तेस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् । उनले आज बिहान ५ बजेर ५० मिनेटमा सगरमाथाको सफल आरोहण गरेको एट–के एक्सपेडिसनका लाक्पा शेर्पाले जानकारी दिनुभयो । एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला बनेकी छन् । उनले यही सिजनको मे १२ मा पहिलो पटक र मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । तर, सगरमाथा आरोहणका हिसाबले यो उनको चौंथो आरोहण हो ।
गोरखाको आरुघाट गाउँपालिका – १० घर भएकी श्रेष्ठले सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले नेपालमा रहेका ८ हजार मिटरभन्दा बढी उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छिन् भने गत साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन् ।