
हेटौँडा । बागमती प्रदेशका ७ पालिकाले जनप्रतिनिधिको विवादका कारणले गर्दा बजेट ल्याउन सकेका छैनन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट चितवनको राप्ती नगरपालिका, सिन्धुपाल्चोकको सुनकोशी, मकवानपुरको बागमती, धादिङको सिद्धलेक र ज्वालामुुखी, नुवाकोटको तारकेश्वर र रसुवाको नौकुण्ड गाउँपालिकाले सार्वजनिक गर्न नसकेका हुन् । प्रदेशका १ सय १९ पालिकामध्ये २६ वटाले मात्रै मन्त्रालयको वेबसाइटमा बजेट प्रविष्ट गरेका छन् ।
स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्ष को बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार जनप्रतिनिधिबीचको विवादले करिब ४८ वटा पालिकाले हिजो बजेट नल्याएका हुन् । देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ९० वटाले मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा बजेट प्रविष्ट गरेका छन् । पालिकाहरुले नगर वा गाउँसभामार्फत आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर असारमसान्तभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
तोकिएको समयमा बजेट पारित हुन नसके रकम निकासा रोकिएर पालिकाको कामकाज ठप्प हुने अवस्था आउनेछ । यस्तै कार्यसम्पादन मूल्यांकनमा असर र अनुदान कटौती पनि व्यहोर्नुपर्नेछ । धेरैजसो स्थानीय तहको बजेटको आकार घटेको छ । राजस्व संकलन लक्ष्य अनुरुप नहुँदा र संघ सरकारको अनुदान रकम घट्दा बजेटको आकार पनि घटेको हो ।