images
images

कालिज फार्ममा भेटिएको चितुवा विशेषज्ञ टोलीको नियन्त्रणमा

  • ९ श्रावण २०७९, सोमबार १३:५२

दोलखा । दोलखा सदरमुकाम चरिकोट नजिकैको महादेव खोलामा रहेको कालिज फार्ममा भेटिएको चितुवा दुई दिन पछि विशेषज्ञको टोलीले नियन्त्रणमा लिएको छ ।

भीमेश्वर नगरपालिका–७ महादेवखोला स्थित दुधपोखरी वायल्ड लाईभ एग्रो विथ रिर्सोटको कम्पाण्डमा फेला परेको लेकाली निगाले चितुवालाई विशेषज्ञको टोलीले नियन्त्रणमा लिएको हो । काठमाडौंको चिडियाखानाबाट आएको पशु चिकित्सक पर्वत जंग थापा नेतृत्वको तीन जनाको टोलीले आज मध्यान्ह १२ बजेतिर चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय दोलखाका निमित्त प्रमुख राम नारायण सुवेदीले जानकारी दिनुभयो । चितुवालाई बन्दुकबाट बेहोस बनाउने सुइ दिएर बेहोस बनाएपछि समातेर पिन्जडामा थुनेर जिल्ला वन कार्यालय चरिकोटको परिसरमा राखिएको उहाँले बताउनुभयो । हिजो दिउँसो करिव १ बजे फेला परेको चितुवालाई स्थानीयले कुटपिट गरी घाईते बनाएकाले उपचार भइरहेको जिल्ला वन कार्यालय दोलखाले जनाएको छ । कालिज फार्ममा फेला परेको चितुवालाई लखेट्न खोज्दा स्थानीयलाई आक्रमणको प्रयास भएपछि स्थानीयले लाठि र ढुँगा प्रहार गर्दा चितुवाको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाईते चितुवालाई उपचारपछि गौरीशंकर संरक्षण क्षेत्रमा छाडिने डिभिजन वन कार्यालय दोलखाका निमित्त प्रमुख सुवेदीले बताउनुभयो । चितुवाको स्वास्थ्य अवस्था सुधार भएपछि मात्रै संरक्षण क्षेत्रमा छाडिने भएकाले कहिले लगिन्छ भन्ने कुनै टुंगो नभएको निमित्त प्रमुख सुवेदीले बताउनुभयो । हिजो मिङ्गुर शेर्पाले सञ्चालन गरेको फार्म भित्र चितुवा पसेर धेरै कालिज मारेको थियोे । चितुवाले फार्मभित्र भएका कालिज मार्दा लाखौँको क्षति भएको छ ।