काठमाडौं । बागमती प्रदेशमा कोभिड बिरामीको संख्या उच्च देखिएको छ ।
दुई सातादेखि देशभर कोरोना संक्रमण पुनः वृद्धि भइरहेका बेला संघीय राजधानी अटाएको बागमती प्रदेशमा कोभिडको बिरामीको संख्या उच्च देखिएको हो । बागमती प्रदेशभित्र कोभिडका बिरामीको संख्या उच्च देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको १३ जिल्लामध्ये काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च रहेको छ ।मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै संक्रमणका बिरामी बढ्दै गइरहेको डा. दासले बताउनुभयो ।
महाशाखाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा र सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न समेत नागरिकहरुलाई आग्रह गरेको छ ।










