हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मनोमानी ढंगले मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेपछि नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण रोकिएको छ ।
नेपाली कांग्रेसवाट सरकारमा सहभागी मन्त्रीहरुको जिम्मेवारी बाँडफाँडवाट मन्त्रीहरु नैं असन्तुष्ट भएपछि नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुन नसकेको हो । मुख्यमन्त्री लामाले आजै कांग्रेसका ४ जना मन्त्रीहरुको नियुक्त गर्नुभएको थियो । कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र बिमल ठकूरी मन्त्री भएका नियुक्त भएका छन् ।
यसअघि बुधबार कांग्रेसवाटै कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मधुकुमार श्रेष्ठ मन्त्रि नियुक्त भएका थिए । मुख्यमन्त्री लामाले ४ जना मन्त्री नियुक्त गरेसंगै मन्त्रालयको जिम्मेवारी बाँडफाँड समेत गरेका थिए । जसअनुसार मन्त्री प्रभातलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मिनकृष्णलाई युवा तथा खेलकुल र बिमललाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बुधबार मन्त्री नियुक्त भई विना विभागीय मन्त्रालयको हैसियतमा शपथ खुवाईएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामवहादुर खड्कालाई खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्री मधुकुमार श्रेष्ठले भने अझै मन्त्रलायको जिम्मेवारी पाएका छैनन् ।
मन्त्रालयको जिम्मेवारी बाँडफाँडप्रति मन्त्री कुन्दनराज काफ्लेले असन्तुष्टि जनाएका छन् । जिम्मेवारी तोकिएको विषय सार्वजनिक भए लगत्तै मन्त्री काफ्लेले मुख्यमन्त्री लामालाई भेटेर असन्तुष्टि जनाएका हुन् । मन्त्रीको शपथ खुवाउनु अघि काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रलायको जिम्मेवारी दिने भनिएको थियो ।
त्यसअघि भौतिक पूर्वाधार मन्त्रालय दावी गरेका काफ्लेले सो मन्त्रालय एमालेको भागमा परेपछि अर्थ मन्त्रालय दावी गरेका थिए । उक्त मन्त्रालय दिने सहमतिकै आधारमा काफ्लेले शपथ ग्रहण गरेका थिए । कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेत समेत भइसकेका काफ्ले मन्त्रिमण्डल बिस्तार गर्दा कांग्रेसवाट बनेका ३ मन्त्री मध्य पहिलो नम्बरमा थिए ।
मुख्यमन्त्री लामा र मन्त्री काफ्ले वीच बागमती प्रदेश प्रमुखको कार्यालयमा करिव आधा घण्टा छलफल भएको भनिए पनि छलफलको विषय बाहिर आएको छैन । कांग्रेसको गुटवन्दी र नेताहरुको चलखेलका कारण अनुमान बिपरित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी स्वार्थका आधारमा तोकिएको आरोप छ ।