जिरी (दोलखा) । रामेछापको गोकुलगँगा गाउँपालिका–६ फर्पुमा घर पहिरोले बगाउँदा एकै घरका दुई सहित तीन जना बालिका बेपत्ता भएका छन् ।
पहिरोले घर बगाउँदा गोकुलगँगा गाउँपालका–६, साविक ९ नम्बर वडा पहिरे गाउँका तीन जना बालिका वेपत्ता भएका हुन् । आज वेलुकी स्थानीय बिमान तामाङको घर पहिरोले बगाउँदा उनकी १७ वर्षीया छोरी सीता तामाङ, १४ वर्षीया नातिनी लक्ष्मी तामाङ र छिमेकी पदम तामाङकी १६ वर्षीया छोरी आशिका तामाङ वेपत्ता भएको नेकपा माओवादी केन्द्रका स्थानीय नेता विशाल तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार वेलुकी आएको पहिरोले बिमानको घर बगाएको हो भने सोही घरमा रहेका तीन बालिका बेपत्ता भएका हुन् । वेपत्ता भएकाहरुको स्थानीयले खोजी कार्य जारी राखे पनि फेला पार्न सकिएको छैन ।
रामेछापका प्रदेशसभा सांसद तारानारायण श्रेष्ठले बेपत्ता भएकाहरुको खोज तथा उद्धारकालागि मन्थलीवाट गएको सुरक्षाकर्मी सहितको खोज तथा उद्धार टोली पनि फर्पु खोलामा आएको बाढीका कारण घटनास्थल पुग्न नसकेको बताउनुभयो ।
फाइल तस्वीर ।