रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएकामध्य दुई जनाको शव फेला परेको छ ।
दोरम्बा शैलुङ्ग गाउँपालिकामा– ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ४ वटा घर बगाउँदा बेपत्ता भएका ११ जनामध्ये २ जनाको शव फेला परेको हो । अहिलेसम्म दुई जनाको शव फेला परेको र अन्यको खोजीकार्य भैरहेको दोरम्बा शैलुङ्ग गाउँपालिकाका सूचना अधिकारी भोला पाठकले जानकारी दिनुभयो । स्थानीय चण्डिका थापामगर र एक वर्षीय बालकको शव भेटिएपनि अझै ८ जना बेपत्ता छन् । मृत फेला परेका चण्डीका र ती बालक जना आमा छोरा हुन् । टोकरपुर खोलामा आएको बाढीले ढोईगाउँ र टोकरपुर जोड्ने खोलाको पक्की पुल समेत बगाएको छ ।
आज बिहान करिब साँढे ३ बजे बस्ती माथिबाट आएको पहिरोले जनधनको क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिनुभयो । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी शुरु गरेका छन् । घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ ।