दोलखा । दोलखाको भीमेश्वर नगरपालिका-६ चोथाङमा एक महिला मृत फेला परेकी छिन् ।
भीनपा-६ स्थित चोथाङकी अन्दाजी ६० वर्षीया लक्ष्मी तामाङ घर नजिकैको खोल्सामा मृत फेला परेकी हुन् । उनी आज दिउँसो घरबाट सडकमा झर्ने क्रममा चिप्लिएर नजिकै रहेको खोल्सामा लडेको आशंका गरिएको दोलखा प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा गोरेटो बाटोबाट लडेर पानीको छाँगामुनि पुगेको र अनुहार पानीमा डुबेकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक जिवन श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनास्थल नजिकै छाता र ती महिलाले आड्ने गरेको बर्काे भेटिएको छ ।
आज दिउँसो बजार जान भनेर घरबाट निस्किएकी उनी नजिकैको खोल्सामा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । ती महिला घरमा एक्लै बस्दै आएको भीनपा ६ का वडा अध्यक्ष नविन लामाले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि पशुपति चौँलागाई स्मृति अस्पताल चरिकोटमा राखिएको छ ।