काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा इन्टर्नसिप गर्न आएका दुई विदेशी युवती लुटिएका छन् ।
हिजो साँझ बनेपा नगरपालिका– ६ भ्युटावरस्थित १६ सय सिँडिमा इभिनिङवाकमा निस्केको इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्रा लुटिएका हुन् ।
लुटेराहरुले ती दुई विदेशी युवतीलाई चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान लुटेका थिए ।
लुटपाट गर्ने तीनजना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका– ६ सान फर्निचरमा काम गर्दै आएका २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा– ९ जनागाल बस्लै आएका १७ वर्षीय सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुनथानका १६ वर्षीय उज्वल दाहाल रहेका छन् ।
लुटिएपछि विदेशी युवतीले ती किशोरको हुलियासहित प्रहरीलाई खबर गरेका थिए । उनीहरुको साथबाट प्रहरीले २ वटा चक्कु र अन्दाजी आधा पाउ जति गाँजासमेत बरामद गरेको छ । लुटेका सबै सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।