images
images

राजनीतिले विथोलिएको थियो प्रेमकथा, अन्ततः भयो पुर्नमिलन !

नेपाली राजनीतिमा सक्रिय एक यस्ता जोडी छन्, जसको प्रेमलाई सधैं राजनीतिलेनै विथोलिदिन्छ । कहिले उनीहरु एकसाथ हुन्छन् त कहिले दुई किनार र दुई धारमा विभाजन हुन बाध्य हुन्छन् । ती पात्रा हुन् दुई राजनीतिक व्यक्तित्व रेशम चौंधरी र रञ्जिता श्रेष्ठ । वास्तवमा उनीहरु दुई जना प्रेमिल जोडी हुन् ।

मनमुटाव भएपनि मनभरीको प्रेम झल्किने स्टाटसहरु एकअर्कालाई लक्षित गरी पोष्ट भैरहेकै हुन्छ । तर, राजनीतिक जिवनकै कारण ती दम्पतीको मनमुटाव भइरहन्छ । उनीहरुको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीभित्र दुई धारको अवस्था पैदा भइरहन्छ । तर, केही महिनादेखि चुलिएको विवादलाई मत्थर गरेर अहिले ती दम्पतीले एक ढिक्का रहेको सन्देश दिन खोजेका छन् । ती दम्पतीबीचको विवादले पार्टी फुटको सँंघारमा पुगेको बेला फेरी एक पटक उनीहरु एक भएर प्रस्तुत भएका छन् ।

भर्खरै मात्रै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पदाधिकारी र केन्द्रीय सदस्यको बैठक बोलाएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले संयुक्त रूपमा बैठक आव्ह्वान गरेका हुन् । श्रीमान–श्रीमती समेत रहेका रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेर सुचना जारी गरी बैठक बोलाएका छन् । बैठक असोज १८ र १९ गते काठमाडौँमा बस्दैछ ।

रेशम र रञ्जिताबीच नेतृत्वको विषयमा नाउपाभित्रको शक्ति संघर्ष चुलिएको थियो । उनीहरुको विवादका कारण नाउपाको नियमित बैठक नै बस्न सकेको थिएन भने पार्टी फुटको संँघारमा पुगेको थियो ।
रञ्जिताको पार्टी अध्यक्ष दोहोरिने चाहना हुँदा पनि रेशम एक्लैले महाधिवेशनमा उम्मेदवारी दिएर अध्यक्ष निर्वाचित भएका थिए । पछि निर्वाचन आयोगले अध्यक्षमा रेशमलाई अस्वीकार गरेर रञ्जितालाई पुनःस्थापित गरेपछि झन अन्र्तद्धन्द्ध चर्किएको थियो । जसले गर्दा उनीहरुको राजनीतिक जिवन मात्रै नभएर व्यक्तिगत जिवनमा समेत असर पुगेको थियो ।

कुन गठबन्धनमा सामेल हुने भन्ने विषयमा समेत उनीहरूबीच तीव्र मतभेद भयो । त्यही क्रममा रेशम र रञ्जिता पक्ष एकअर्कालाई कारबाही गर्नसम्म पुगेका थिए । केन्द्रमा मात्रै नभई उनीहरूबीचको विवाद प्रदेश तहसम्मै पुगेको थियो । सांसदहरू दुई कित्तामा विाभाजन भएर कोही सत्तापक्ष र कोही प्रतिपक्षमा समेत उभिन पुगे ।

पछिल्लो समय करिब ७ महिनाअघिदेखिको रेशम–रञ्जिताको विवाद अहिले मिलापमा परिवर्तन भएको सन्देश दुवै पक्षले दिन चाहेका छन् । यही सन्देश दिन रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेर बैठक बोलाएका हुन् । विवादपछि सांगठनिक गतिविधि ठप्प भएर पार्टी पंक्तिमा निराशा छाएको थियो ।

बैठक बोलाउनुअघि रेशम र रञ्जिताबीच पार्टीमा दुवै पक्षको समान सहभागितासहित बैठकको अध्यक्षता दुवैले गर्ने समझदारी गरेका छन् । रञ्जिताले एकलौटी नगरेर रेशमको सहमतिमा पार्टीको निर्णय गर्ने र रञ्जिताकै आधिकारिक हस्ताक्षर चलाउने समझदारी बनेको नाउपा स्रोतले जनाएको छ । महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगले वैधानिकता दिएको हैसियतमा बैठकको अध्यक्षता र निर्णय प्रक्रियामा दुवैको समान सहभागिता रहन्छ ।

ती दम्पतीको पुर्नमिलनपछि रञ्जिताले यसअघि कारबाही गरेका नेता कार्यकर्ताका विषयमा बैठकमा छलफल गरेर कारबाही फुकुवा गर्ने तयारी समेत गरिएको छ ।

२०७२ सालको भदौ ७ मा टीकापुरमा भएको हिंसामा एक नाबालकसहित सात प्रहरीको हत्या भएको थियो । घटनाका मुख्य दोषी भएको ठहर गर्दै अदालतले रेशमलाई जन्मकैदको सजाय सुनाएको थियो । तर, उनी अहिले राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त छन् ।