images
images

धादिङमा माईक्रो बस दुर्घटना, मनकामना दर्शनका लागि हिँडेका दोलखा र रामेछापका ११ जना घाईते

काठमाडौँ । धादिङमा माईक्रोबस दुर्घटना हुँदा दोलखा घर भएका चालकसहित दुई परिवारका ११ जना घाईते भएका छन् ।

ईभि रिजर्भ गरि मनकामना दर्शनका लागि जान लागेका रामेछाप घर भई भक्तपुर बस्ने केदार कुमारी श्रेष्ठको परिवारका ६ जना र राधिका कटवालको परिवारका ४ जना दुर्घटनामा परेका हुन् । धादिङ प्रहरीका अनुसार माईक्रोमा सवार रामेछाप घर भई भक्तपुरको चागुनारायण नगरपालिका–१ बस्ने ७० वर्षीया केदारकुमारी श्रेष्ठ, १५ वर्षीय सुरज श्रेष्ठ, ३९ वर्षीया संगिता श्रेष्ठ, ४० वर्षीय नारनबहादुर श्रेष्ठ, १० वर्षीय सुदिप श्रेष्ठ र ४५ वर्षीय नारायणदास श्रेष्ठ घाईते भएका छन् ।

यस्तै, सोही स्थानकी ४२ वर्षीया राधिका कटवाल, ४२ वर्षकै कुमार कटवाल, १२ वर्षीय विवस कटवाल र १६ वर्षीया विनिता कटवाल पनि घाईते भएका छन् । उनीहरुमध्य नारानबहादुर, नारायण दास र कुमारको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि चालक दोलखाको गौरीशंकर गाउँपालिका –३ का ३० वर्षीय गंगाबहादुर बस्नेत पनि सामान्य घाईते भएका छन् । घाईतेहरुको महादेवबेँसीस्थित टाईम्स केयर अस्पतालमा उपचार भईरहेको छ ।

काठमाडौँबाट गोरखा जाँदै गरेको बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्वरको विद्युतीय भ्यान (ईभी) आज दिउँसो धादिङको थाक्रे गाउँपालिका–६ नौकिलोमा दुर्घटना भएको हो । प्रहरीका अनुसार ईभी आँफै अनियन्त्रित भई सडकबाट १५/२० मिटर तल खसेको थियो ।