images
images

पूर्वमन्त्री खड्काको पुस्तक विमोचन, अन्तराष्ट्रिय सम्मेलनमा क्षतिपूर्ति माग्ने प्रधानमन्त्री प्रचण्डको भनाई

  • ९ मंसिर २०८०, शनिबार १५:५०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा नेपालले जोडदार रुपमा क्षतिपूर्तिको माग गर्ने बताउनुभएको छ ।

विकसित राष्ट्रहरुका कारण विश्वमा जलवायु परिवर्तनको गम्भीर असर परेको भन्दै उहाँले अन्तराष्ट्रिय सम्मेलनमा नेपाल लगायत साना राष्ट्रहरुले उचित क्षतिपूर्ति दावी गर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्काद्धारा लिखित ‘पर्यावरणीय संकट’ नामका पुस्तकको प्रधानमन्त्री निवास वालुवाटारमा विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

औद्योगीकीकरण र विकसित राष्ट्रका क्रियाकलपकै कारण विश्वमा जलवायु परिवर्तन तीब्र भएकाले असर न्यूनिकरणका लागि पनि तिनै राष्ट्रले बढी सहयोग गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ । जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको तयारी भइरहेको बेला पूर्वमन्त्री खड्काको पुस्तकले नेपाली प्रतिनिधिमण्डलाई समेत राम्रो पृष्ठपोषण हुने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । नेकपा माओवादी केन्द्रका युवा नेता एवम् पूर्वमन्त्री खड्काद्धारा लिखित पर्यावरणीय नामक पुस्तक विमोचनसँगै आजदेखि बजारमा आएको छ ।

सो पुस्तकमा पूर्वमन्त्री खड्काले जलवायु परिवर्तनले हिमालयको देश नेपाल सहित विश्वभरमा निम्तेको पर्यावरणीय संकट र त्यसको न्यूनिकरणमा मार्क्सवादी, समाजवादी दृष्टिकोण सहितको भूमिकाका बारेमा उल्लेख गर्नुभयो । मन्त्री खड्काले प्रदेश सरकारको वन तथा वातावरणमन्त्री हुँदा गरेका काम र अनुभवका विषयमा पनि पुस्तकमा उल्लेख गर्नुभएको छ ।

पुस्तक उपर नेकपा माओवादी केन्द्रका नेता राम कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् बागमती प्रदेशसभाका पूर्व सांसद विराजभक्त श्रेष्ठ र पर्यावरण विज्ञ डा.पपुलर जेन्टलले टिप्पणी गर्नुभएको थियो । पुस्तक विमोचन समारोहमा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्प्रिसाद सापकोटा, माओवादी नेताहरु लिलामणी पोखरेल र देवेन्द्र पौडेल लगायतका नेताहरुको पनि उपस्थिति थियो ।