दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल पुँजी १ अर्ब २६ करोड नाघेको छ ।
संस्थाको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कुल दायित्व तथा पुँजी १ अर्ब २६ करोड १० लाख ३५ हजार ३ सय २७ रुपैयाँ पुगेकोे हो । मिलिजुली कालिञ्चोक साकोसको ३० औँ साधारण सभाको अवसरमा सदरमुकाम चरिकोटमा आज आयोजित साधारण सभामा यस्तो जानकारी गराईएको हो । संस्थाको शेयर पुँजी ७ करोड ९२ लाख ५२ हजार ६ सय रुपैयाँ रहेको छ । मिलिजुली साकोसका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले संस्थाको जगेडा कोष १२ करोड ६१ लाख ५५ हजार ४ सय १७ रुपैयाँ रहेको र संस्थाले ९८ करोड २९ लाख ८५ हजार ३ सय ५४ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले गत आर्थिक वर्ष ५७ लाख ८० हजार ५ सय ४३ रुपैयाँ मुनाफा गरेको छ ।
संस्थाका सचिव ठाकुरप्रसाद पाठकका अनुसार संस्थाको शेयर सदस्य २५ हजार ६५ जना रहेका छन् भने बालबचतकर्ता ९ हजार २ सय ६९ रहेका छन् । संस्थाको दोलखा जिल्लामा ९ वटा, सिन्धुपाल्चोक र काठमाडौँमा १/१ गरी ११ वटा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन् । संस्थाले गत वर्ष राहत कार्यक्रम अन्तर्गत ३ सय ४३ जनालाई १७ लाख ४३ हजार राहत रकम वितरण गरेको छ । मिलिजुली साकोसले शेयर सदस्यबाट लिईएको केही रकम र संस्थाको आम्दानीबाट राहत कोष खडा गरी पुरुष सदस्यको बाबु, आमा, श्रीमती र स्वयम्को मृत्यु हुँदा तथा महिला सदस्यको सासु, ससुरा, श्रीमान् र स्वयम्को मृत्यु हुँदा हकवालालाई राहत दिँदै आएको छ । साकोसले गत वर्ष सुत्केरी सहयोग कार्यक्रम अन्तर्गत ९९ जनालाई १ हजारका दरले ९९ हजार रुपैयाँ सहयोग भत्ता उपलब्ध गराएको छ ।
संस्थाको क्षेत्रीय साधारणसभाको नेफ्स्कुनका सञ्चालक सदस्य जीवसराज खड्काले उद्धघाटन गर्नुभयो । साधारण सभा संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत इश्वर न्योपानेले संस्था चार वर्षीय रणनीतिक योजना अनुसार अघि बढिरहेको र पहिलो वर्ष पुरा भएको बताउनुभयो । मंसिर २ गतेबाट सुरु भएको साकोसको साधारणसभा १६ गते काठमाडौंमा सम्पन्न हुने भएको छ ।










