images
images

सरकार गठन गर्ने समय आज सकिदैँ, पहिलो कार्यकाल कसले चलाउने भन्ने विषयमा विवाद कायमै

  • १० पुष २०७९, आईतवार ०७:५०

काठमाडौं । नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरुलाई राष्ट्रपति कार्यालयले दिएको समय आज सकिदैँछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि पुस ३ गते आवहान गर्नुभएको थियो । नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार राष्ट्रपतिले आज बेलुका ५ बजेसम्म दाबी पेस गर्न दलहरुलाई आवहान गर्नुभएको हो ।
यता सत्ता गठबन्धनमा अझै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबैले दाबी गरिरहेका छन् । आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटे पनि पहिलो कार्यकाल कसले चलाउने भन्ने विषयमा विवाद कायमै छ ।
नयाँ सरकार गठनका लागि सहमति जुटाउने प्रयासमा रहेको सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्ने माओवादी केन्द्रका महासचिव देव गुरुङले जाकारी दिनुभयो । आज बिहान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा र नेकपा माओवादी अध्यक्ष प्रचण्डबिच वान टु वान छलफल सहमतिमा नपुगे नेपाली राजनितिले नयाँ मोड लिने देखिएको छ ।