images
images

प्रचण्ड–माधव नेपालको यात्रामा बिश्राम, एमालेको समर्थनपछि नेकपा एस अन्यौलमा

  • १० पुष २०७९, आईतवार १८:२४

काठमाडौं । सत्ता गठबन्धन टुटेर नयाँ सरकारकालागि नयाँ गठबन्धन बनेपछि नेकपा एकिकृत समाजवादी पार्टी अन्यौलमा परेको छ ।

नेपाली कांग्रेसको हठका कारण राजनीतिक घटनाक्रम बदलिएर सत्ता गठबन्धन टुटेपछि नेकपा एस अन्यौलमा परेको हो । सत्ता गठबन्धन टुटेसँगै नयाँ प्रधानमन्त्रीको दावी प्रस्तुत गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल वीचको सम्वन्ध पनि टुटेको छ । तर, दुई शिर्ष नेताहरु वीचको सम्वन्ध सत्ता गठबन्धनकालागि अहिले बनेको नयाँ समिकरणसँगै पुरै टुटेको हो वा आगामी यात्रा सँगसँगै हुन्छ ? यकिन गर्न हुन बाँकी छ । संयोग कस्तो परेको छ भने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि त्यसको बिरोधमा प्रचण्ड र माधव नेपाल एकसाथ सडकमा उत्रिएर ‘हामी यहाँ छौं’ भन्ने प्लेकार्ड सहित बिरोध जनाएकै दिन गठबन्धनका दृष्टिले यी दुई नेता अलग भएका छन् ।

२०७७ साल पुस ५ गते ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि प्रचण्ड–माधव नेपाल प्रतिगमन बिरोधी आन्दोलनकालागि भन्दै एकजुट भएका थिए । ०७७ साल असोज १० गते प्रचण्ड–माधव नेपाल सहितका नेताहरु छातिमा प्लेकार्ड टाँसेर सडकमा उत्रिएका थिए । त्यसको ठिक २ बर्षपछि सरकार गठनकालागि बनेको नयाँ समिकरणसँगै उनीहरु अलग भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले सहित ७ दल र ३ स्वतन्त्र साँसदको समर्थनमा प्रधानमन्त्री बन्ने निश्चित भएको छ । आफ्नो नेतृत्वमा सरकार गठनकालागि समर्थन जुटाउन प्रचण्ड सहितका ७ दलीय नेताहरु दिउँसो एमाले अध्यक्ष ओली निवास बालकोटमा भेला भएका थिए ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयछि ओलीको घरको बार्दलीवाट ओली र प्रचण्ड दुवैले अभिवादन गरेका थिए । ओलीको बार्दली र त्याहाँवाट गरिएको अभिवादन अहिले चर्चामा छ । तत्कालिन सरकारवाट बाहिरिए पछि ओलीले सोही बार्दलीवाट अभिवादन गरेका थिए भने अहिले ओलीको समर्थनमा प्रधानमन्त्री बन्ने भएपछि प्रचण्डले त्यहि बार्दलीवाट अभिवादन गर्न पुगेका छन् ।

नेकपा एमाले–माओवादी केन्द्र सहितको ७ दलीय गठबन्धनको नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै नेकपा एकिकृत समाजवादीको आगामी यात्रामा अलमल देखिएको छ । नेकपा एसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्छ या गर्दैन ? अहिले भन्न सकिने अवस्था छैन । राजनीतिक घटनाक्रम परिवर्तन भएपछि नेकपा एसले पार्टीको केन्द्रीय सचिवालय बैठक बेलाए पनि नयाँ समिकरणका बारेमा आधिकारिक धारणा बनाएको छैन । बैठकले परिस्थितिको गम्भिर अध्ययन गरी देश, जनता र पार्टीको हित अनुकूल निर्णय लिने महासचिव बेदुराम भुषालले जानकारी दिनुभयो ।

नेकपा एकिकृत समाजवादीसँग प्रतिनिधिसभामा १० जना सांसद रहेका छन् ।