images
images

बागमतीमा एमाले, माओवादी केन्द्र र राप्रपा मिल्दा बहुमत, कांग्रेस प्रतिपक्षीको भूमिकामा

  • १० पुष २०७९, आईतवार २०:१५

हेटौंडा । केन्द्रीय तहमा सरकार गठनका क्रममा सत्ता समिकरण बद्लिएसँगै बागमती प्रदेशमा तीन दल मात्रै मिल्दा प्रदेश सरकार बन्ने भएको छ ।

नयाँ सरकार गठनमा पुरानो गठबन्धन तोडिएर नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै मिल्दा पनि सरकार गठन हुने भएको हो । सत्ता गठबन्धनवाट बाहिरिए सँगै बागमती प्रदेशमा सरकारको नेतृत्वको मुख्य दावेदार नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने लगभग निश्चित भएको छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनकालागि केन्द्रीय सत्ता गठबन्धनका दलहरु मध्ये एमाले, माओवादी केन्द्र र राप्रपा मात्रै मिल्दा पनि सहजै बहुमत पुग्ने छ । सरकार गठनकालागि ५६ सांसद आवस्यक पर्नेमा तीन दल मिल्दा ६१ जना सांसद पुग्छन् । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१ र राप्रपाका १३ जना साँसद छन् ।

७ दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा ४ वटा दल प्रतिपक्षीको भूमिकामा रहने छन् । केन्द्रीय सत्ता गठबन्धन अनुसार ३७ सिट रहेको नेपाली कांग्रेस, ७ सिट रहेको नेकपा एकिकृत समाजवादी, ३ सिट रहेको नेमकिपा र २ सिट रहेको हाम्रो नेपाली पार्टी प्रतिपक्षीको भूमिका बस्ने छन् ।