दोलखा । दोलखाका तीन स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर र गौरीशंकर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिहीन बनेको हो । भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेवानिबृत्त भएका छन् भने गौरीशंकर र बैतेश्वरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । भीमेश्वरका प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडा पुस ४ गते सेवाबाट निबृत्त भएपछि बिदाई गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत खतिवडा सेवा निबृत्त भएसँगै भीमेश्वरमा आठौँ तहका अधिकृत अर्जुनबहादुर कार्कीलाई निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको छ ।
यस्तै, गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलको पनि सरुवा भएको छ । प्याकुरेलको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा सरुवा भएको हो । तर, उनले रमाना लिन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घिमिरेको पनि सरुवा भएको छ । घिमिरेले २०८० साल भदौ १२ गतेदेखि कात्तिक २३ गतेसम्म करिब साँढे २ महिना जिम्मेवारी सम्हालेका थिए । स्वास्थ्य समस्याको कारण देखाउँदै प्रमुख प्रशासकीय अधिकृत घिमिरे आफ्नो गृह जिल्ला रामेछापको जिल्ला समन्वय समितिमा सरुवा भएका हुन् ।
घिमिरेको सरुवासँगै बैतेश्वरमा मंसिर ५ गतेबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ऋषिराम ज्ञवालीलाई दिईएको छ । ज्ञवालीले यसअघि पनि २०७९ साल भदौ २३ देखि २०८० साल भदौ ११ सम्म करिब १ वर्ष बैतेश्वरमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । अन्य स्थानीय तहको तुलनामा बैतेश्वर गाउँपालिकामा छोटो समयमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुने गरेका छन् । बैतेश्वरमा आउने प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कारण देखाएर सरुवा हुने गरका छन् । बैतेश्वरमा प्रमुख प्रशासकीय अधिकृतहरुलाई काम गर्ने सहज वातावरण नभएका कारण उनीहरु छोटो समयमा सरुवा भएर जाने गरेको बताईन्छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय सरकारको प्रशासनिक काम रोकिनुका साथै विकास निर्माणका काम प्रभावित हुने गरेका छन् ।



सिर्जना थापा खड्का 






