काठमाडौं । कोरियन भाषा परीक्षा (इपिएस) मा उत्पादनतर्फ अहिले सम्मकै धेरैको आवेदन परेको छ ।
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको लागि एक लाख ४३ हजार ८१२ जना युवायुवतीले आवेदन दिएका हुन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा हालसम्म यति धेरै आवेदन परेको हो ।
सो शाखाका प्रमुख गुरुदत्त सुवेदीले अनलाइन प्रणालीबाट आवेदन दिने माग गरेयताको उच्च आवेदन परेको जानकारी दिनुभयो । तीन वर्षयता अनलाइनमार्फत इपिएसको आवेदन दिन सकिने व्यवस्था रहेको छ । सो शाखाका अनुसार गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएका छन् । त्यसले गर्दा पनि आवेदन दिनेको सङ्ख्या बढेको हो । गत साउनमा पानीजहाज निर्माणसम्बन्धी कामका लागि इपिएसले कोरिया भाषाको परीक्षा लिएको थियो ।
त्यसमा आवेदन दिएर अनुत्तीर्ण भएकालाई यो पटककोे परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा सो निर्णयविरुद्ध गएका थिए । अदालतले उनीहरुलाई पनि यो पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेपछि यसअघिको परीक्षामा अनुत्तीर्णले पनि आवेदन दिने अवसर पाएका छन् ।
रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाँदैछ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो सङ्ख्यामा आवेदन खुलाएको हो । यो क्षेत्रका लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन । सन् २०२४ का लागि दक्षिण कोरिया सरकारले नेपाललाई १६ हजारको कोटा उपलब्ध गराएको छ । आवेदन दिएका परीक्षार्थीको परीक्षा ढिलोमा फागुनसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ ।
कोरिया सरकारले सन् २००८ देखि सरकारी तवरमा श्रमिक लैजान थालेको हो । हालसम्म एक लाख १० हजार युवाले कोरियामा रोजगारीको अवसर पाएको इपिएस कोरिया शाखाले जनाएको छ । अहिले करिब ५० हजार नेपाली युवा कोरियामा कार्यरत छन् ।










