काभ्रेपलाञ्चोक । छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ मा रहेको जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । सोही विद्यालयमा कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन् । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालय अनुगमन गर्ने क्रममा सो घटनाको रहस्य खुलेको हो । विद्यालयका प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको र छात्रालाई अश्लील सन्देश समेत पठाएको खुलेको छ । करिब दुई महिना अगाडि घटेको घटना बाहिरिएसँगै मेयरले शिक्षक र प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाएका हुन् । खरेलकै रोहवरमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी प्रधानाध्यापकलाई बर्खास्त गरी विद्यालयमा कार्यवाहक प्रधानाध्यापकसमेत तोकिएको छ ।
दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख भाग्येन्द्र पुरुष ढकालले जानकारी दिनुभयो ।










