
काठमाडौँ । काठमाडौँबाट स्रोत नखुलेको ९२ लाख नगद सहित सिन्धुपाल्चोकका एक सहित ३ जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक घर भएका रविन धमला, रसुवा घर भएका जितबहादुर तामाङ र संखुवासभा घर भएका सन्तोष खातीलाई प्रहरीले रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गएराति जोरपाटीबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ९२ लाख रकम बरामद गरेको छ । प्रहरीले उनीहरुसँग सुन रहेको सूचनाका आधारमा अप्रेसन चलाएकोमा सो रकम फेला परेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले सुरुमा ७७ लाख र पछि १५ लाख बरामद गरेको थियो ।
उनीहरुले सो रकम कुन प्रयोजनका लागि लैजान लागेको भन्ने विषयमा अनुसन्धान भईरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिनुभयो ।