
जिरी(दोलखा) । जिरीको याकचिज र छुर्पी भन्ने वित्तिकै मुख नमिठ्याउने सायद कमै छन् । नेपालको स्विट्जरल्याण्डको रुपमा परिचित जिरीको नाम सुन्नासाथ मानिसहरु याकचिज सम्झिन्छन् ।
हो, जिरीको चिज सबैले रुचाउँछन् र जिरी आएका पर्यटकहरु कोशेलीको रुपमा चिज र छुर्पी लैजान चाहन्छन् । जिरी, याकचिज र छुर्पी पर्यायवाची जस्तै छन् ।
करिब २० वर्ष अघिसम्म जिरीका उच्च हिमाली क्षेत्रमा चौँरीको लस्कर देखिन्थ्यो । गोठालाहरु दिनभर चौँरी चराउन चरन क्षेत्रमा निस्किएर राति चौँरी गोठमै बास बस्ने गर्र्दथे । जिरी आउने विदेशी पर्यटकहरु समेत चौँरीलाई हेर्न च्युर्दोङ पहाडको फेदीमा रहेका चौँरी गोठमा पुग्थे ।
विस्तारै दिनहरु वित्दै गए । मौसम र जिवनशैलीमा पनि विस्तारै परिवर्तन आउँदै गयो । त्यसपछि विस्तारै जिरीका जङ्गलमा लामबद्ध देखिने चौँरीको संख्या घट्दै गयो । चौँरी किसानहरु प्नि पेशावाट बिस्थापित हुन थाले ।
कतिपयले चौरी पालन गर्नै छाडे, कतिपय अन्य पेशामा समाहित भए, केही बैदेशिक रोजगारीमा जान रुचाए । जलवायु परिवर्तनसँगै वातावरणमा देखा परेको परिवर्तनले चौँरी गाईलाई चरन, घाँस र पानीको अभाव भयो । चौँरी गाईमा बिभिन्न रोगको प्रकोप समेत देखियो ।
यस्तै, समस्याले चौँरी पालन विस्थापित हुँदै गयो । जिरीको उच्च हिमाली क्षेत्रमा विगतको जस्तो चौँरीको लस्कर देख्न नपाएपनि केही किसानहरु अझै यहि पेशामा छन् ।
चौँरी बन्यो जीवनको सारथि
जिरी नगरपालिकामा डेढ दर्जन बढी किसानहरुले अहिले पनि चौँरी पालन गरिरहेका छन् । बिभिन्न चुनौतीका बाबजुद यी किसानहरुको आम्दानीको मुख्यश्रोत र जीवनको सारथी चौँरी पालन नैं हो ।
अहिले पनि घना जंगलमा खेल्दै हुर्किने चौंरी किसानहरुको साथी बनेको छ । जिरी–५ काप्तीका गेल्जी शेर्पा र कान्छिमाया शेर्पा चौँरी पालक किसान हुन् । नाताले श्रीमान–श्रीमती रहेका शेर्पा दम्पतीको मुख्य व्यवसाय र आम्दानीको श्रोत चौंरी बनेको छ ।
शेर्पा दम्पतीले आफ्ना पूर्खाहरुले अँगाल्दै आएको चौंरी पालन पेशालाई निरन्तरता दिँदै आएका छन् ।
करिब ३० वर्षदेखि चौँरी पालन गरिरहेको शेर्पा दम्पतीको साथी चौँरी र संसार चाँहि चरन क्षेत्र बनेको छ । कान्छिमाया भन्नुहुन्छ– ‘हाम्रो घर नैं चौंरी गोठ हो । चौंरीहरु चाँही हाम्रा साथी ।’
जलवायु परिवर्तनसँगै हिमाली भेगमा समेत तापक्रम बृद्धि हुन थालेको छ । उच्च हिमाली क्षेत्रमा हिउँसँग लुकामारी गर्दै हुर्किने चौँरीले समेत गर्मीको सामना गर्नु परेको छ । गर्मी बढेका कारण चिसो मौसममा गाउँवस्ति नजिक सम्म झार्नु पर्ने चौँरी गोठ माथिल्लो क्षेत्रमै राख्ने गरेको गेल्जीले बताउनुभयो ।
जलवायु परिवर्तनले जंगल र चरन क्षेत्र सुख्खा हुँदै गएको छ । पानीको मुहान र कुवाहरु सुक्दै गएका कारण झनै समस्या भएको चौँरी किसानको गुनासो छ । चरन क्षेत्रमा चौँरीका लागि आवश्यक घाँस पलाउन छाडेको उनीहरुको भनाई छ । वातावरणीय असरका कारण चौँरी पालन व्यवसाय संकटमा परेपछि यो पेशावाट किसान बिस्थापित भइरहेका छन् ।
जिरी नगरपालिका–१ स्यामाका चौँरी किसान निमा साङ्गे शेर्पाकाअनुसार दुई बर्षअघि फैलिएको लम्पी स्किनको महामारीले धेरै चौँरी बिरामी परे, कतिपयको मृत्यु नैं भयो । एउटा चौँरी मर्दा १ लाख भन्दा बढी क्षेति हुने गरेकाले किसानहरुले धेरै ठूलो नोक्सानी व्यर्होनु पर्याे ।
लम्पीस्किनले समेत धेरै चौँरीमा क्षति पुगेपछि अहिले जिरी नगरपालिकाभर १७÷१८ वटा मात्रै चौंरी गोठ छन् । जिरी नगरपालिका–५ मा ४ वटा गोठ रहेको छ भने जिरी नगरपालिकाको वडा नम्बर १ मा सबैभन्दा बढी चौँरी पालन हुँदै आएको छ । जिरी–१ का चौरीपालक किसान मिङमा शेर्पा चारीपालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको बताउनुहुन्छ ।
चौँरी पालक किसानहरुले परापूर्वकालदेखिनै व्यवसायिक रुपमा चौंरी पालन गर्दै आएको भएपनि पछिल्लो समयमा जलवायु परिवर्तनले गर्दा चौँरीलाई आवश्यक चरन क्षेत्रमा घाँसहरु र पानी पोखरी लोप हुँदै गएको छ ।
जलवायु परिवर्तनको कारण फरक खालका झाडी, बुट्यानहरु बढ्दै गएको, चौंरीलाई पानी र चरण क्षेत्रको अभाव भइरहेको र राम्रो गोठको व्यवस्थापन नभएपछि चौंरी व्यवसाय संकटमा परेको छ ।
चौँरी घट्दै गएको जिरीमा चौँरीबाट बन्ने दुधजन्य पदार्थहरुको मागमा भने कहिल्यै कमी आएन । जिरीमा उत्पादित याकचिज, छुर्पी र घ्यूको उच्च माग छ । चौँरी पालन व्यवसाय संकटमा परिरहेका बेला जिरी–५ मा भने चौँरीपालक किसानहरुका लागि चौरी प्रवद्र्धन र चरण क्षेत्रको संरक्षणमा वन तथा वातावरण मन्त्रालय मार्फत पारिस्थितिकीय प्रणालीमा आधारित (इबीए) आयोजना सारथि बन्न पुगेको छ ।
आयोजनाले जिरीमा ५५ लाख बजेट खर्च गरी चौंरी प्रवद्र्धनमा टेवा पुग्ने कार्य गरेको छ । इबीएले ५ वटा संरक्षण पोखरी, ५ वटा गोठ निर्माण, ९ वटा शौचालय, ८ वटा पानी ट्यांकी निर्माण, ५ वटा खानेपानीको धारा निर्माण गरिदिएको जनाएको छ ।
साथै, कालोभिर सामुदायिक वनमा घाँसहरु रोपिएको छ । कालोभिर सामुदायिक वनको ८ हेक्टर क्षेत्रफलमा क्लोमर र राईघाँस रोपिएको हो । जसले गर्दा चौँरी चरणको लागि सहज भएको छ ।
जिरी नगरपालिका–५ का वडाध्यक्ष नरबहादुर जिरेलले इबीएले वडामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा चौंरी प्रवद्र्धन र चरण क्षेत्र संरक्षणको कार्यक्रम पनि ल्याएको बताउनुभयो । उहाँका अनुसार इबीएको उक्त कार्यक्रमले जिरी–५ मा व्यवसायिक रुपमाचौंरी पालन गर्ने कृषकहरुलाई राहत मिलेको छ ।
जिरी नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख पदम बहादुर जिरेलका अनुसार जिरीको वडा नम्बर ५ मा मात्रै नभएर अन्य वडाहरुमा पनि चौंरी पालन हुँदै आएको छ । यद्धपी, नगरपालिकाबाट चौरीपालन किसानका लागि यो वर्ष कुनै कार्यक्रम छैन ।
इबिएको कार्यक्रमबाट पाँच वडाका चौंरी किसान लाभान्वित
यता, इविए आयोजनाले जिरी नगरपालिकामा मात्रै नभई दोलखामा चौरीपालन भैरहेकोे पालिकाहरुका विभिन्न वडाहरुमा चौँरीपालक कृषहरुलाई लक्षितगरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
उक्त संस्थाले दोलखाका चौंरीपालन हुने क्षेत्रहरु भीमेश्वर नगरपालिकाको वडा नम्बर ९, शैलुङ गाउँपालिका–४, कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ मा चौंरी प्रवद्र्धन तथा चरण क्षेत्र पुर्नस्थापनाका क्षेत्रमा काम गर्दै आएको इबीएका विनोद थापाले जानकारी दिनुभयो ।
दोलखा जिल्लाको किसानको आयआर्जनको प्रमुख स्रोत बाख्रा भैँसि भेडा र चौरी पालन ब्यबसाय रहेको छ ।
चौंरीपालन व्यवसाय परापूर्वकालदेखि गर्दै आएको भएपनि पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा मिचाहा प्रजातीको झाडिबुट्यानको बृद्धि, पानीको अभाव, चट्याङ्ग हिमपातले बासस्थानको समस्या र घासको कमीले दुग्ध उत्पादनमा ह्रास जस्ता समस्याले चौंरीपालण व्यवसाय प्रति किसानको रुचि घट्दै गइरहेको थियो ।
चरण क्षेत्र पुर्नस्थापनाको लागि पारिस्थितीकीय प्रणालीमा आद्यारित अनुकुलनक आयोजनाले दोलखामा १७८ हेक्टर क्षेत्रमा मिचाहा प्रजातिहरू हटाउने घास रोप्ने र घास छर्ने, ४० चौरी भेडा गोठ निर्माण, १५ सरक्षण पोखरी निर्माण, १९ पानी ट्याङ्की निर्माणका साथै पानीको ब्यवस्थापन सम्पन्न गरेको छ । जसबाट ५२९ घरधुरीको २६४५ स्थानीय लाभान्बित भएका छन् ।
स्थायी गोठ बनेपछि जंगलमा काठ फँडानी गरेर गोठ बनाउनुपर्ने फल्याक, प्लास्टिकको छानो छाउँदा पानी चुहिने समस्या, चट्याङ्ग हावाहुरी र हिमपातको विपदबाट मुक्ति पाएका छन् । घासहरु र पिउने पानीको व्यवस्थापनका सथै दुग्ध उत्पादनमा वृद्धि भएको छ र किसानले केही चौरीपनि थप गरेका छन् ।
दोलखाको चौंरीपालन हुने सबैभूभागमा गरी जिल्लामा करिब ५५ सयको हाराहारीमा चौंरी छन् । चौंरी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पशु सेवा कार्यालय दोलखाले चालु आर्थिक वर्ष जिल्लामा १५ लाख बराबरको कार्यक्रम ल्याएको कार्यालय प्रमुख ज्ञान बहादर जिरेलले जानकारी दिनुभयो ।