
दोलखा । दोलखाको क्षेत्रपास्थित क्षेत्रावती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीको पौष ६ गतेदेखि क्षेत्रगत रुपमा सुरु भएको साधारणसभा आज सम्पन्न भएको हो । साधारणसभामा संस्थाका सचिव विष्णुबहादुर राजलवटले प्रगती प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष केशव बहादुर खड्काले ६ करोड ९९ लाख २४ हजार ३ सय बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । ५ करोड १ लाख ७५ हजार ४९६ रुपैयाँ कूल बचत रहेको सहकारीले ६ करोड २ लाख २३ हजार ५७० रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीमा १८ सय ८० जना शेयर सदस्य रहेका छन् ।
यस्तै, लेखा संयोजक सिताराम श्रेष्ठले लेखासुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका कार्यवाहक अध्यक्ष मिठु बहादुर श्रेष्ठको अध्यक्षतामा भएको सधारणसभामा प्रमुख अतिथि दोलखा जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष भूमीराज खड्का, वैतेश्वर गाउँपालिका ८ का वडाअध्यक्ष शान्तबहादुर जिरेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीले साधारणसभाको अवसर पारेर चार जना जेष्ठ सदस्य तथा संस्थाको कार्यक्षेत्रभित्र रहेका विद्यालयहरुबाट उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रा गरि ९ जना विद्यार्थीहरुलाई सम्मान गरेको सहकारीका कर्मचारी लोकबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
वैतेश्वर ८ क्षेत्रपा मुख्य कार्यालय रहेको क्षेत्रावती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वैतेश्वर गाउँपालिका, कालिञ्चोक ७ र ८, गौरीशंकर १ र २ तथा भीमेश्वर नगरपालिकाको वडा नम्वर १,२,३ र ४ मा कार्यक्षेत्र रहेको छ ।