images
images

दोलखामा पोखरी निर्माणमा लाखौं खर्च, एकपछि अर्को भत्किदै

जिरी (दोलखा) । दोलखामा निर्माण भएका पोखरीहरु धमाधम भत्किन थालेका छन् ।

भीमेश्वर नगरपालिकामा निर्माण गरिएको रिचार्ज पोखरी भत्किएको घटना सेलाउन नपाउँदै तामाकोशीमा निर्मित घोर्नागी पोखरी पनि जोखिममा परेको छ । दुई वर्ष अघि भीमेस्वरको कोर्थली सामुदायिक बनमा लाखौंको लागतमा निर्माण गरिएको रिचार्ज पोखरी गत बर्षायाममा भत्किएको थियो । तामाकोशी गाउँपालिका ६ च्यामास्थित घोरनागीमा गत वर्ष निर्माण गरिएको पोखरी पनि ‘कम्पाउण्ड वाल’ भत्किएर फुट्ने अवस्थामा पुगेको छ । तामाकोशी गाउँपालिकाको २९ लाख लागतमा निर्माण भएको पोखरीमा ब्रम्हाको मूर्ति समेत राखिएको थियो । उपभोक्ता समिति मार्फत निर्माण भएको घोर्नागी पोखरी निर्माणको एक वर्ष नवित्दै एकतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि पोखरी उच्च जोखिममा परेको छ । जोखिम बढ्दै जाँदा पनि पोखरीको पानी यथावत राखिएको छ ।

पोखरी मर्मतका लागि गाउँपालिकामा बजेट माग

घोरेनागीमा तत्कालिन वडाध्यक्ष झनक बहादुर फुयालको पालामा पोखरी निर्माण गरिएको थियो । अघिल्लो सरकारको पालामा निर्माण भएको पोखरी जोखिममा परेपछि मर्मतका लागि आफुले पहल थालेको बर्तमान वडाध्यक्ष कृष्ण प्रसाद फुयालले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष सो पोखरीको लागि बजेट विनियोजन नभएपनि आगामी गाउँसभा (हिउँदे) अधिवेशनमा पोखरी मर्मतको लागि बजेट व्यवस्था गरिदिन पालिकामा प्रस्ताव लैजाने तयारी गरिएको उहाँले बताउनुभयो । तामाकोशी ६ च्यामाका पूर्व वडाध्यक्ष झनकबहादुर फुयालले भने पोखरी भत्किएको विषयलाई समान्य रुपमा लिनुभएको छ । उहाँले पोखरी नभत्किएको र पोखरी नजिकै लगाइएको पर्खाल भत्किएकाले करिब ३ लाखको बजेटमा मर्मत गर्न सकिने बताउनुभयो ।
विकास निर्माणका काममा गुणस्तर कायम नहुँदा यस्ता समस्याहरु आइरहेका छन् । पोखरीसँगै जोडिएको पर्खाल भत्किएपछि पोखरी पनि भत्किने जोखिम रहन्छ । पूर्व वडाअध्यक्ष झनकले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी आफ्नो कार्यकालमा काम अघि बढाएको र सोही क्रममा पोखरी निर्माण गरेर ब्रम्हाको मूर्ति राखिएको बताउनुभयो । घोरेनागीको पोखरी भन्दा माथि पिकनिक स्पोर्ट र नजिकै खेल मैदान तथा पदमार्ग पनि निर्माण भएको छ ।

६० लाख लागतमा बस्ति संरक्षणको काम हुँदै

यसअघि प्रदेश सरकारको लगानीमा भीमेस्वर नगरपालिकाले जिल्ला सदरमुकाम चरिकोट नजिकै खोरथली सामुदायिक वनमा २ वर्ष अघि बनाएको रिचार्ज पोखरी पनि भत्किएको थियो । प्रदेश सरकार, भीमेस्वर नगरपालिका र डिभिजन वन कार्यालय दोलखाको लाखौं लगानीमा निर्माण भएको रिचार्ज पोखरी भत्किएर त्यसमा जम्मा भएको पानीले बाढीको रुप लिदा भीमेश्वर नगरपालिकाको वडा नम्बर २ र ३ का दर्जन बढी घरजोखिममा परेका थिए । चालु वर्षको भीमेस्वर नगरको ६० लाख बजेटबाट जोखिममा परेका ती बस्ती आसपास बाँध(ग्याविन वाल, जाली) लगाइएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिनुभयो ।

यद्धपी, फुटेको रिचार्ज पोखरीलाई भने मर्मतको योजना ल्याइएको छैन । पोखरी भन्दा तल्लो बस्तीका नागरिकहरुले पोखरी निर्माणको विरोध गरेका छन् । फेरी पनि पोखरी फुट्ने जोखिम रहने भन्दै मर्मत सम्हारका लागि बजेट नछुट्याइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । परिणामत लाखौं लगानी भएको भीमेश्वर नगरको रिचार्ज पोखरी सफल हुन सकेन । रिचार्ज पोखरी तत्कालीन नगरप्रमुख भरत केसीको कार्यकालमा भीमेस्वर नगरपालिकाले खुल्ला चिडियाखाना कार्यक्रम अन्तर्गत खोरथली बनमा निर्माण गरेको थियो । प्राकृतिक रुपमा रहेको सानो पोखरीलाई ठूलो क्षमताको रिचार्ज पोखरी निर्माणमा बागमती प्रदेश सरकार, भीमेस्वर नगरपालिका र डिभिजन वन कार्यालय दोलखाको लाखौं लगानी भएको थियो ।

पोखरी ७० मिटर लम्वाई, ३० मिटर चौडाई र ३ मिटर उचाईको करिव ६ हजार घनमिटर पाटी अट्ने क्षमताको बनेको थियो । तर, अहिले यसको औचित्य नरहेको हो ।