images
images

चरिकोट खानेपानीको संरचनामा सहरी खानेपानीको हस्तक्षेप, प्रतिरोध गर्ने चेतावनी

  • १२ माघ २०७९, बिहीबार १८:१४

दोलखा । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनालाई चरिकोटमा वितरण हुने पानीको ट्यांकीमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाले सहमति विना ट्याङकी क्षेत्रमा प्रवेश गर्ने र थप संरचनाहरु निर्माण गर्न थालेपछि चरिकोटमा नियमित खानेपानी आपुर्तिमा समस्या भएको भन्दै चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले यस्तो चेतावनी दिएको हो । समितिले आज विज्ञप्ति जारी गर्दै चरिकोटका उपभोक्ताले पिउने पानीमा खेलवाड नगर्न र सहमति विना बनाइएका संरचना भत्काउने सम्मको चेतावनी दिएको हो । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ४१ वर्ष अघिदेखि अर्थात् २०३८ सालबाट भीमेश्वर नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का करिव २५ सय उपभोक्तलाई पिउने पानी उपलब्ध गराउँदै आएको छ । तर पछिल्लो समय सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाले यो समितिलाई आफ्नो आयोजनामा एकिकरण भएको भन्दै गलत व्याख्या गर्ने र ट्यांकीमा अनाधिकृत रुपमा प्रवेश गरी संरचना निर्माण गरेकोप्रति चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बद्रि कुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा यी दुई आयोजनाबीच एकिकरण नभएको र उपभोक्ताहरुसँगको छलफल नगरी एकिककरण नगर्ने निर्णय भएको उल्लेख गरिएको छ । तर यो सहमति विपरित सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाले जवरजस्ती ताला लगाएको ट्याङकी क्षेत्रमा प्रवेश गर्ने र थप संरचनाहरु निर्माण गर्न थालेपछि चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आपत्ति जनाएको हो । चरिकोट खानेपानीको भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको विसौनामा चार वटा ट्यांकी रहेका छन् ।

ति ट्याङकीको वरपर ताराजाली लगाईको भएपनि सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना जवरजस्ती प्रवेश गरी आजबाट संरचना बनाउन थालेको छ । आफुहरुसँग कुनै छलफल नगरी तारबाट छिरेर संरचना बनाउँदा खानेपानी वितरणमै जोखिम देखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । खानेपानी जस्तो विषयमा सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाले खेलवाड गर्दै चरिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ट्यांकीमा अनावश्यक हस्तक्षेप गरी थप संरचना निर्माण गर्दा २५ सय भन्दा बढी उपभोक्तालाई नियमित पानी आपुर्तिमा समस्या भइरहेको विज्ञप्तिमा भनिएको छ ।

चरिकोटका उपभोक्ताहरुले चरिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पानी प्रयोग गरेवापत एकजना साधरण उपभोक्ताले मासिक १ सय ६० रुपैँया र होटलले ३ सय १० रुपैँया तिर्ने गरेका छन् । तर पछिल्लो समय सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाले चरिकोटका प्रत्येक घरमा खानेपानीको मिटर जडान गरिरहेको छ । नयाँ मुहानको खोजी नगरी पुरानै मुहानलाई प्रयोग गर्नेगरी सो आयोजनाले नयाँ संरचना बनाएको भन्दै चरिकोट खानेपानी उपभोक्ता समितिले आपत्ति जनाएको हो ।