images
images

मन्त्रीको ‘डोर’बाट दोलखा र रामेछापका सांसद ‘रिङ आउट’, संघदेखि प्रदेशसम्म शून्य

जिरी (दोलखा) । दोलखा र रामेछाप जिल्लाका सांसदहरु संघीय सरकार र बागमती प्रदेश सरकारको मन्त्री बन्ने अवसरबाट रिङ आउट भएका छन् ।

देश संघीयतामा गएपछि पाँच वर्षे दोस्रो कार्यकालका लागि दोलखा र रामेछापबाट संघ र प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेताहरु कसैले पनि तत्कालका लागि मन्त्री बन्ने अवसर नपाएका हुन् । एक महिना अघि प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डको नेतृत्वमा संघीय सरकार गठन भएको थियो । तर, दोलखाबाट निर्वाचित संघीय सांसद गंगा कार्कीले मन्त्री बन्ने अवसर पाएनन् ।

बुधबार मात्रै बागमती प्रदेश सरकारमा मन्त्रीपरिषद विस्तार भएको छ । ८ जना मन्त्री थपेर बागमती प्रदेश सरकारलाई पूर्णता दिइँदा दोलखा र रामेछाप जिल्लाबाट एक जना सांसदले समेत मन्त्री बन्ने अवसर पाएनन् । दोलखाबाट ५ र रामेछापबाट ५ जना गरी बागमती प्रदेशसभामा १० जना सांसदको प्रतिनिधित्व छ ।
दोलखाबाट प्रत्यक्षतर्फ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका कुण्दनराज काफ्ले र निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका भरत केसी प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । यस्तै, एमालेबाट ठूला थामी र उर्मिला सुनुवार तथा राप्रपाबाट मोनिका श्रेष्ठ समानुपातिकतर्फ बागमती प्रदेशसभा सांसद बनेका छन् । कांग्रेस प्रतिपक्षमा रहेपनि अन्य दल सत्तापक्षमै रहेको छ । तर, पनि यो पटक उनीहरु ४ जना मध्ये कोही पनि मन्त्री बन्न पाएनन् । यसअघि भने दोलखाले पटक–पटक अवसर पाउँदै आएको थियो । सोही कारण पनि यो पटक दोलखाको भागमा मन्त्री नपर्नु स्वभाविक हुन सक्छ । यसअघि पछिल्लो पाँच वर्षभित्र एमालेबाट संघ र प्रदेशमा गरी ३ जना मन्त्री बनेका छन् भने माओवादीले पनि प्रदेश सरकारमा अवसर पाएको थियो । माओवादीका युवा नेता विशाल खड्का वन तथा वातावरणमन्त्री बनेका थिए ।

यसैगरी रामेछापबाट पनि बागमती प्रदेशसभामा ५ जना सांसद छन् । प्रत्यक्षतर्फ नेकपा माओवादीका दुई नेता प्रदेशसभा सदस्य निर्वाचित हुँदा समानुपातिकतर्फ ३ जना प्रदेशसभा सांसद बनेका छन् । प्रत्यक्षतर्फ माओवादीबाट निर्वाचन क्षेत्र १ मा निर्वाचित तारानारायण श्रेष्ठ र निर्वाचन क्षेत्र २ बाट निर्वाचित युवराज चौलागाई रहेपनि दुवै जना मन्त्रीको घेराबाट बाहिर परेका छन् । रामेछापबाट नेकपा एमालेको तर्फबाट समानुपातिकतर्फ आनन्द कुमार श्रेष्ठ, माया कुमारी कार्की र राष्ट्रिय प्रजान्त्र पार्टीबाट लक्ष्मी घिमिरे सांसद छन् । माओवादी नेतृत्वमै सरकार गठन हुँदा प्रत्यक्ष निर्वाचित हुने दुई नेता मध्ये एक नेताको समेत ठाउँ नअटाएको मन्त्रीको त्यो लिस्टमा अन्य तीन जनाको भने सम्भावनानै देखिएको थिएन ।

सिन्धुपाल्चोक र सिन्धुलीलाई अवसर

सिन्धुपाल्चोकका माओवादी नेता युवराज दुलाललाई यो पटक पनि मन्त्री बन्ने अवसर जुरेको छ । सिन्धुपाल्चोक–२ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट प्रदेशसभा सदस्य बनेका दुलालले दोहोरीएर मन्त्री बन्ने मौका पाएका छन् । माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत रहेका उनले पहिलो कार्यकालको सुरुवातमै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए । अहिले दुलालले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

यसैगरी सिन्धुलीबाट पनि एक जनाले बागमती प्रदेशमा मन्त्री बन्ने अवसर पाएका छन् । सिन्धुलीबाट प्रदेशसभामा माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठले बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन बन्त्री बन्ने अवसर पाएका हुन् ।