images
images

गौरीशंकरमा गाउँसभाको १६ औँ अधिवेशन सम्पन्न, वालवालिका विकास ऐन पारित

  • १३ माघ २०८१, आईतवार १७:४४

दोलखा । गौरीशंकर गाउँपालिकाको गाउँसभाको १६ औँ अधिवेशन सम्पन्न भएको छ ।

गौरीशंकर गाउँपालिकाको कार्यालय सुरीमा भएको गाउँसभाको १६ औँ अधिवेशनले अर्धवार्षिक समिक्षा गर्नुका चालु वर्ष सञ्चालन हुने केही कार्यक्रम तथा बजेटको संशोधन गरेको छ । साथै गाउँसभाले केही विधेयक परिमार्जन र नयाँ विधेयक पारित समेत गरेको छ । जसअनुसार आर्थिक विधेयकमा करको दायरामा छुट भएका विषय समावेश गरी परिमार्जन गरिएको छ । यस्तै पालिकाले बालवालिका विकास ऐन समेत बनाएको छ । गाउँपालिकामा रहेका घरपरिवार विहीन बालवालिकाको व्यवस्थापन सम्बन्धी बालवालिका विकास ऐन आजको गाउँसभामा पारित भएको हो ।

ऐनमा घरपरिवार विहीन वालवालिकालाई दिने सुविधा, वैकल्पिक हेरचाहका लागि अध्ययन र सिफारिस लगायतका विषयमा समिति समेत गठन गरिएको छ । चालु वर्ष ६३ करोड २२ लाख ४४ हजार बराबरको बजेट ल्याएको गौरीशंकर गाउँपालिकाले साउनदेखि पौस सम्म ६ महिनाको अवधिमा कुल २५ दशमलव ७८ प्रतिशत बजेट खर्च गरेको छ । गाउँसभामा सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको प्रगति तथा योजना कार्यान्वयनको अवस्थाबारे जानकारी दिनुभएको छ ।

यस्तै उपाध्यक्ष उमा लुंगेली मगर शेर्पाले चालु वर्षको हालसम्मको आय व्यय विवरण र कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, सम्पूर्ण वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।