सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा स्थानीय किसानले पालेका ब्रोइलर कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।
बलेफी गाउँपालिका वडा नम्बर ८ स्थित लामोसाघुँमा स्थानीयले पालेका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । एकजना किसानले फर्ममा पालेका चार हजार कुखुरामध्ये २५ सय कुखुरा धमाधम मरेपछि फागुन १० गते स्याम्पल परिक्षणका लागि त्रिपुरेश्वरस्थित ल्याबमा लगिएको थियो । परिक्षणका क्रममा कुखुरामा एच फाइभ एन वान बर्डफ्लु पुष्टि भएको बलेफि गाउँपालिकाका पशुसेवा प्राविधिक दिपेन्द्र दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लु पुष्टि भएपछि सो फर्मलाई शिल गरिएको छ भने अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परिक्षणका लागि पठाइएको छ ।
बर्डफ्लु पुष्टि भएपछि किसानलाई सर्तकता अपनाउन आग्रह गरीएको बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला कायस्थले जानकारी दिनुभयो । पछिल्लो समय बर्डफ्लुको संक्रमण एकपछि अर्को जिल्लामा देखिन थालेको छ । यसअघि काठमाडौंको गोकर्णेश्वर ३ मा मानिसमा समेत संक्रमण गराउन सक्ने खालको बर्डफ्लु पुष्टि भएको थियो ।