
दोलखा । दोलखाको जिरीमा आजदेखि सुरु जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिरी नगरपालिकाले विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा दुई स्वर्ण पदक हात पार्दै जिरी नगरपालिकाले विजयी सुरुवात गरेको हो । जिरी माविको खेल मैदानमा भएको खेलमा जिरी नगरपालिकाले ज्यावलिङ थ्रोमा छात्र छात्रा दुवै तर्फ स्वर्ण पदक हात पारेको हो । छात्रतर्फको रजत पदक तामाकोशी गाउँपालिकाले जितेको छ भने भीमेश्वर नगरपालिकाले कास्य जितेको छ । यस्तै छात्रातर्फ शैलुङले रजत र मेलुङ गाउँपालिकाले कास्य पदक जितेको छ ।
प्रतियोगितामा आज भलिबल र कबड्डीतर्फ लिग चरणका खेल भएका छन् । भलिबलमा छात्र र छात्रा दुवैतर्फ तीन/तीन वटा खेल भएको छ । १७ गते सम्म चल्ने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी तथा एथलेटिक्सतर्फ दौड, रिले दौड, हाईजम्प लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपुट लगाएतका खेल हुनेछ । त्यसमध्य ज्यावलिङ थ्रो तर्फका खेल भने आजै सम्पन्न भएको सह–आयोजक जिरी माविका प्रधानध्यापक कुमार जिरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताले नगद ३५ हजार तथा उपविजेताले २५ हजार र तृतीय हुनेले नगद १५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसअघि पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
जिल्लास्तरीय प्रतियोगिताका विजयी टोलीले प्रदेशस्तरीय प्रतियोगिता खेल्न पाउने दोलखा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कुमार उप्रेतीले जानकारी दिनुभयो ।