images
images

दोलखामा आठ महिनामा भेटिए ६१ जना क्षयरोगका विरामी

  • १२ चैत्र २०७९, आईतवार ०८:१४

दोलखा । दोलखामा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ६१ जना नयाँ क्षयरोगका विरामी फेला परेका छन् ।

साउनदेखि फागनुसम्मको अवधिमा दोलखामा ६१ जना नयाँ क्षयरोगका विरामी फेला परेका हुन् । स्वास्थ्य कार्यालय दोलखाका अनुसार सवैभन्दा बढी भीमेश्वर नगरपालिकामा १७ जना क्षयरोगका विरामी भेटिएका छन् भने जिरी नगरपालिकामा १२ जना, शैलुङमा ८, मेलुङमा ७, तामाकोशी ६, कालिञ्चोक ५, विगुमा ३, वैतेश्वरमा २ र गौरीशंकर गाउँपालिकामा एक जना क्षयरोगका नयाँ विरामी भेटिएका छन् । गत आर्थिक वर्षमा दोलखामा ६२ जना क्षयरोगका विरामी फेला परेका थिए । तर चालु आर्थिक वर्ष वर्षको ८ महिनाको अवधिमै ६१ जना क्षयरोगका विरामी फेला परेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले जानकारी दिनुभयो ।

दुई साता वा सो भन्दा बढी समयसम्म खोकी लागीरहनु, साँझपख ज्वरो आउनु, तौल घट्नु, खकारमा कहिलेकाँही रगत देखा पर्नु र खाना खान मन नलाग्नु क्षयरोगका लक्षण हुन् । यस्ता समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने चिकित्सकहरुले बताएका छन् ।