
काठमाडौँ । विपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विवषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको आजको बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाउँदै कुलमानलाई हटाईएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका हुन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ । घिसिङको कार्यकाल सकिन ४ महिना मात्रै बाँकी रहँदा सरकारले पदबाट हटाएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकिकृत समाजवादी लगाएतका दलले विरोध जनाएपछि प्रतिनिधिसभाको नियमित कारबाही अघि बढ्न सकेको छैन । सभामुख देवराज घिमिरेले पटक पटक आग्रह गर्दापनि विरोधमा उठेका सांसदहरु सिटमा नबसेपछि बैठक स्थगित भएको छ । बैठकको सुरुमै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्नका लागि समय दिनुभएको थियो । सो क्रममा बोल्दै सांसद बस्नेतले चार महिना पनि टिक्न सकिन्न भन्ने डरले सरकारले कुलमानलाई हटाएको आरोप लगाउनुभयो ।
यस्तै, राष्ट्रियसभा बैठकमा पनि सांसदहरुले विरोध गरेका छन् । दिउँसो सवा १ बजे बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध गरेका थिए । त्यसलगत्तै सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिएकोमा सरकारले पुरस्कृत गर्नुपर्ने घिसिङलाई दण्डित गरिएको भन्दै आपत्ति जनाउनुभयो । राष्ट्रियसभा सांसदहरुले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने अडान राख्दै अवरोध कायम राखेका छन् ।