भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा डा.स्वर्णिम वाग्ले निश्चित भएका छन् ।
नेपाली राजनीतिज्ञ, अर्थशास्त्री र योजनाविद् समेत रहेका डा.वाग्ले प्रधानमन्त्रीको रुपमा बालेनको शपथसँगै मन्त्रिपरिषद् विस्तार हुँदा अर्थमन्त्री बन्ने निश्चित भएको हो । गोरखा जिल्लामा जन्मिएका वाग्लेले उच्च शिक्षा हार्वड विश्वविद्यालयबाट स्नातकोत्तर (मास्टर) पूरा गरेका छन् ।
अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनले संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गरेका थिए। स्वदेश फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाले।
अन्तराष्ट्रिय स्तरमा छवि
त्यहाँ रहँदा देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिएका थिए। वाग्ले पछिल्ला केहीबर्षबाट सक्रिय राजनीतिमा लागेका हुन् । तनहुँ क्षेत्र नम्बर १ बाट दुईपटक निर्वाचित भएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत हुन् ।
नयाँ सोच र परिणाममुखी राजनीतिका विषयमा केन्द्रीत रहने उनी नेपाली अर्थशास्त्रीहरु मध्ये अन्तराष्ट्रिय स्तरमा छवि बनाएका र विश्व अर्थतन्त्रका क्षेत्रमा रहेर काम गर्ने एक मात्र व्यक्ति हुन् ।
स्प्रीङ मिटिङमा भाग लिन जाने
अर्थमन्त्रीका रुपमा डा.वाग्ले निश्चित भएपछि अर्थ मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अनौपचारिक रुपमा काम भैरहेका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार चैत ३० देखि वैशाख ५ गतेसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व बैँक समूह (डब्लुबीजी) को संयुक्त आयोजनामा हुने स्प्रीङ मिटिङमा भाग लिन जाने व्यवस्था मिलाउन निर्देशन दिईसकेका छन् ।
सामान्यतया यसअघि स्प्रीङ मिटिङमा अर्थ मन्त्रालयका सहसचिव जाने गरेपनि यसपटक करिब दुई तिहाईको नयाँ सरकार गठन भएको र कूटनीतिक सम्बन्ध सुधार गर्नुपर्ने भएकाले अर्थमन्त्री कार्यक्रममा सहभागी हुन चाहेको स्रोतको भनाई छ ।










