images
images

स्थानीय तह निर्वाचनः दोलखामा १४ सय २३ जनाको उम्मेदवारी

  • १३ बैशाख २०७९, मंगलवार ०८:०३

दोलखा । दोलखामा स्थानीय तह निर्वाचनका लागि करिब साँढे १ हजारले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाको ९ स्थानीय तहमा १ हजार ४ सय २३ जनाले मनोनयन दर्ता गराएका हुन् । जसअनुसार ९ वटा पालिकाको अध्यक्ष तथा प्रमुख पदका लागि ७७ जना, उपाध्यक्ष तथा उपप्रमुख पदमा ४० जना, वडा अध्यक्षमा ३ सय ७७ जना, सदस्यमा ४ सय ९० जना, महिला सदस्यमा २ सय ३० जना र दलित महिला सदस्यमा २ सय ९ जनाको उम्मेदवारी दर्ता भएको छ । सबैभन्दा बढी गौरीशंकर गाउँपालिकामा १ सय ८३ जनाले मनोनयन दर्ता गराएका छन् । सो पालिकामा अध्यक्ष पदका लागि ८, उपाध्यक्षमा ३, वडाअध्यक्षमा ६१, सदस्यमा ५८, महिला सदस्यमा २७ र दलित महिला सदस्यमा २६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै भीमेश्वर नगरपालिकामा १ सय ७० जनाले मनोनयन दर्ता गराएका छन् । जसअनुसार नगरप्रमुखका लागि ९ जना, उपप्रमुखमा ६, वडाअध्यक्षमा ४१, सदस्यमा ५९, महिला सदस्यमा ३१ र दलित महिला सदस्यमा २४ जनाको उम्मेदवारी परेको छ । जिरी नगरपालिकामा प्रमुखका लागि ४, उपप्रमुखमा ५, वडाअध्यक्षमा ३५ , सदस्यमा ५२, महिला सदस्यमा २६, दलित महिला सदस्यमा २२ जना गरी जम्मा १ सय ४४ जनाले मनोनयन दर्ता गराएका छन् । कालिञ्चोक गाउँपाकिलामा अध्यक्षमा १०, उपाध्यक्षमा ३, वडाअध्यक्षमा ३७, सदस्यमा ५४, महिला सदस्यमा २३ र दलित सदस्यमा २१ जनाले उम्मेदवारी दिएका छन् ।
तामाकोशी गाउँपालिकामा १ सय ४९ जनाले मनोनयन दर्ता गराएका छन् । जसअनुसार अध्यक्षमा ६, उपाध्यक्षमा ४, वडाअध्यक्षमा ४२, सदस्यमा ५५, महिला सदस्यमा २० जना र दलित समस्यामा २२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । यस्तै, मेलुङ गाउँपालिकामा अध्यक्षका लागि ११ जना, उपाध्यक्षमा ६, वडाध्यक्षमा ४५, सदस्यमा ५२, महिला सदस्यमा २६ जना र दलित महिला सदस्यमा २५ जना गरी १ सय ६५ जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाको विगु गाउँपालिकामा अध्यक्षका लागि मात्रै अन्य पालिकाको तुलनामा सबैभन्दा बढी १२ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षका लागि ३, वडाध्यक्षमा ३७, सदस्यमा ६०, महिला सदस्यमा ३० जना र दलित महिला सदस्यमा २५ जनाले उम्मेदवारी दिएका छन् । वैतेश्वर गाउँपालिकामा अध्यक्षमा ९, उपाध्यक्षमा ५, वडाध्यक्षमा ३७, सदस्यमा ५२, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा २४ जनाको उम्मेदवारी परेको छ । शैलुङ गाउँपालिकामा जम्मा १ सय ४७ जनाको उम्मेदवारी परेको छ । सो पालिकामा अध्यक्षका लागि ८, उपाध्यक्षमा ५, वडा अध्यक्षमा ४२, सदस्यमा ४८, महिला सदस्यमा २४ जना र दलित महिला सदस्यमा २० जनाले उम्मेदवारी दिएका हुन् ।