
दोलखा । दोलखामा स्थानीय तह निर्वाचनका लागि ३० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाको अध्यक्ष पदका लागि ३० जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । प्रमुख र अध्यक्षका लागि ७७ जनाको उम्मेदवारी दर्ता भएकोमा ३० जना स्वतन्त्र उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जसअनुसार सबैभन्दा धेरै विगु गाउँपालिकामा ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने जिरी नगरपालिकामा सबैभन्दा कम १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विगुमा अध्यक्षका लागि १२ जनाको उम्मेदवारी परेकोमा ८ जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जिरी नगरपालिकाको नगरप्रमुखका लागि ४ जनाको उम्मेदवारी परेकोमा एक जना स्वतन्त्र तर्फका उम्मेदवार छन् भने तामाकोशी गाउँपालिकामा अध्यक्षका लागि ६ जनाको उम्मेदवारीमा परेकोमा २ जना स्वतन्त्र उम्मेदवार छन् ।
कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा १० जनाले उम्मेदवारी दर्ता गराएकोमा ६ जनाले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन् । जिल्लाको शैलुङ गाउँपालिकाको अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी दर्ता भएकोमा ३ जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका छन् भने वैतेश्वर गाउँपालिकामा अध्यक्ष पदमा ९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये चार जनाले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन् । यसैगरी भीमेश्वर नगरपालिकाको नगरप्रमुखका लागि ९ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् भने मेलुङ गाउँपालिकाको अध्यक्षका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये तीन जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । गौरीशंकर गाउापालिकाको अध्यक्षका लागि ८ जनाको उम्मेदवारी दर्ता भएकोमा चार जना स्वतन्त्र तर्फका हुन् ।