जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा १५२ वटा योजना सम्पन्न भएका छन् ।
फागुनसम्म सबै योजनाको सम्झौता गरिसकेको नगरपालिकाले यो अवधिमा १५२ योजना सम्पन्न गरी भुक्तानी दिइसकेको हो । चालु आर्थिक वर्ष सकिन ३ महिना बाँकी हुँदा अब नगरपालिकाले ४२ वटा योजना मात्रै सम्पन्न गर्न बाँकी छ । नगरपालिकाले लिएको नीति अनुसार जेठ मसान्तसम्म सबै योजनाको काम सकेर भुक्तानी गर्नु पर्नेछ । अब नगरपालिकालाई सबै योजना सम्पन्न गरी भुक्तानी दिन ढेड महिना मात्रै बाँकी छ ।
नगरले लिएको लक्ष्य अनुसार विकास निर्माणको योजना सम्झौता भएको र सोही अनुसार समयमै सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । जिरी नगरपालिकाले आज आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो । जस अनुसार चालु आर्थिक वर्ष ५६ करोड ४६ लाख २३ हजार २ सय ७२ रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म २४ करोड १४ लाख ५६ हजार २६ रुपैयाँ अर्थात ४२ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको छ । जसमा पूर्वाधार विकासतर्फ १५ करोड २ लाख ५६ हजार ७७२ रुपैंया विनियोजन भएकोमा हालसम्म ३ करोड ४८ लाख ५४ हजार ४ सय ९३ रुपैंया अर्थात २३ दशमलव २ प्रतिशत खर्च भएको छ ।

आर्थिक विकासतर्फ २ करोड ७१ लाख २० हजार विनियोजन भएकोमा हालसम्म ८५ लाख ४५ हजार ४ सय ९९ अर्थात ३१ दशमलव ५१ प्रतिशत खर्च भएको छ । सामाजिक विकासतर्फ १४ करोड ६८ लाख ९५ हजार ३ सय ६४ रुपैंया अर्थात ५६ दशमलव ११ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धीत क्षेत्रमा ११ लाख ३६ हजार ११४ अर्थात १५ दशमलव ३५ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ५ करोड ३४ हजार १५२ रुपैंया अर्थात ५३ दशमलव ७८ प्रतिशत खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यो अवधिमा नगरपालिकाले ३४ करोड ३२ लाख ३९ हजार ५ सय ११ रुपैंया अर्थात ६३ दशमलव ६० प्रतिशत आम्दानी गरेको छ । नगरले चालु आर्थिक वर्ष २०८०/८१ मा कुल ५६ करोड ४६ लाख २३ हजार २ सय ७२ रुपैंया आम्दानी गर्ने लक्ष्य लिएको थियो ।
जिरी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्व सांसद इन्द्रबहादुर खड्का, जिल्ला समन्वय समिति दोलखाका उपप्रमुख दोर्जी शेर्पा, नेपाली कांग्रेस जिरी नगर समितिका सभापति सोनाम शेर्पा, नेकपा एमाले जिरी नगरकमिटीका अध्यक्ष केशवकुमार कार्की, नेकपा एकीकृत समाजवादी जिरी नगर कमिटीका सचिव तेजस्वी बस्नेत, राप्रपा प्रदेश समितिका सदस्य रामकाजी खड्का, उद्योग वाणिज्य संघ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठ, कांग्रेस जिरी नगर समितिका उपसभापति गणेश जिरेल, एमालेका युवा नेता एवँ व्यवसायी केशवकुमार कार्की (माडे), राप्रपा निकट महिला सगठनकी केन्द्रीय सदस्य सृष्टि न्यौपाने, युवा सञ्जाल जिरीका कोषाध्यक्ष इस्वर कार्की लगायतले सुझाव दिनुभएको थियो ।
जिरी नगरपालिकाले जिरी एफएमसँगको समन्वयमा मानेडाँडा पार्कमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा सहभागीहरुको जिज्ञासामा नगरप्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, गाई आनुवशिंक स्रोत केन्द्र जिरीका प्रमुख डा. गोपाल गिरी, जिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा, प्रशासन शाखा प्रमुख मानबहादुर जिरेल, इन्जिनियर कृष्ण ज्ञवाली, शिक्षा शाखाका केदार दहाल लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा जिरी नगरपालिकाका वडाध्यक्षहरु सहितका जनप्रतिनिधिहरु, सामाजिक संघ/संस्थाका प्रतिनिधि तथा जिरीवासी सर्वसाधारणको सहभागीता थियो ।



हाम्रो अपडेट 






