images
images

झ्याकु घटनामा संलग्न भएको आशंकामा दुई युवक पक्राउ

  • १२ जेष्ठ २०७९, बिहीबार १०:४७

दोलखा । दोलखाको झ्याकु घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका २४ वर्षिय यानबहादुर बस्नेतको हत्या आशंकामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको हो । बस्नेतको हत्या आशंकामा स्थानीय दुई युवकलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । यद्धपी प्रहरीले उनीहरुको परिचय खुलाएको छैन । बस्नेतको शव बुधबार विहान झयाकुस्थित सर्सेपु आधारभुत विद्यालय नजिकैको जंगलको रुखमा झुण्डिएको जस्तो अवस्थामा फेला परेको थियो ।

झुन्डिएका बेला रुखबाट डोरी चुँडिएको जस्तो देखिए पनि उनको हत्या हो वा आत्महत्या भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन । घटना शंकास्पद रहेकाले पोष्टमार्टम रिर्पोटपछि मात्रै थप बताउन सक्ने प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको आत्महत्या नभई हत्या हो कि भन्ने स्थानीयले आशंका गरेका छन् । मृतक बस्नेतको घाँटीमा भएको डोरी नसकिनु, डोरी ढुंगाले हानेर काटेको जस्तो देखिनु र शव भुईँमा फेला पर्नु लगायतका कारण स्थानीयले उनको अन्त कतै हत्या गरी त्यहाँ ल्याएर शव राखिदिएको हो कि भन्ने आशंका गरेका छन् । मंगलबार साँझ घरबाट निस्किएका बस्नेतको हिजो शव फेला परेको थियो ।