images
images

झ्याकु घटनामा प्रहरीको सक्रियता, अनुसन्धानका लागि थप तीन जना पक्राउ

  • १२ जेष्ठ २०७९, बिहीबार २०:२५

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका झ्याकुमा एक युवक मृत फेला परेको घटनामा दोलखा प्रहरीले गम्भीरताका साथ अनुसन्धान सुरु गरेको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुका २४ वर्षिय यानबहादुर बस्नेत शंकास्पद रुपमा मृत फेला परेपछि प्रहरीले उनको हत्या भएको आशंकामा गहिरो अनुसन्धान सुरु गरेको हो । शंकास्पद रुपमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेपछि हत्या भएको आशंकामा प्रहरीले एक पछि अर्काे व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा हिजो दुई जना पुरुषलाई पक्राउ गरेकोमा आज पनि थप तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा मृतकको आफन्तजनले दिएको जाहेरीका आधारमा ५ जना पुरुषलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुशिल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल उनीहरुलाई हिरासतमा राखेर सोधपुछ भइरहेको छ । प्रहरीले उनीहरुको नाम र विवरण सार्वजनिक गरेको छैन । घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको र घटनाको विषयमा थप विवरण खुलाउन नमिल्ने दोलखा प्रहरीले जनाएको छ ।

बस्नेतको शव बुधबार विहान झयाकुस्थित सर्सेपु आधारभुत विद्यालय नजिकैको जंगलको रुखमा झुण्डिएर डोरी चुडिएर भुँइमा खसेकोे अवस्थामा फेला परेको थियो । उनको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले घटनामा चासो देखाएर अनुसन्धान गरिरहेको छ । मृतक बस्नेतको शवको पोष्टमार्टम समेत भइसकेको छ । यद्धपि पोष्टमार्टमको रिपोर्ट भने सार्वजनिक गरिएको छैन ।

मृतक बस्नेत यही ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुको वडाध्यक्षका उम्मेदवार बनेका दिलबहादुर बस्नेतका आफ्नै छोरा हुन् । उनी स्थानीय मानेडाँडा माविमा लेखापालको रुपमा कार्यरत थिए ।