images
images

चर्णावतीधाममा जारी महायज्ञमा राजनीतिक दलका भिआईपी नेताहरुको आगमन

  • १२ जेष्ठ २०८०, शुक्रबार ११:१६

दोलखा । दोलखाको शैलुङ गाउँपालिका–७ फस्कूस्थित चर्णावतीधाममा जारी श्रीमद् देवी भागवत् महायज्ञमा राजनीतिक दलका विशिष्ठ (भिआईपी) नेताहरुको आगमन जारी रहेको छ ।

जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि चर्णावतीधाममा आयोजना गरिएको महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा विशिष्ठ (भिआईपी) नेताहरुको आगमन जारी रहेको हो । नेताहरुसँगै दर्शनार्थीहरुको पनि महायज्ञमा भीड लागेको छ । यही जेठ ७ गतेबाट सुरु भएको श्रीमद् देवी भागवत् नवाह ज्ञान महायज्ञको संस्कृत तथा ईतिहासविद् जगमान गुरुङले उद्घाटन गर्नुभएको थियो । उद्घाटनका दिन महायज्ञ स्थलको पूर्ब प्रधानमन्त्री एबम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अवलोकन गर्नुभएको थियो । यस्तै, नेपाली कांग्रेशको केन्द्रिय सदस्य एबम् सांसद शंकर भण्डारी जेठ ९ गते महायज्ञ स्थल पुग्नुभएको थियो । धार्मिक पर्यटकीय स्थानको रुपमा समेत चर्नावती त्रिवेणी रामघाट धामलाई विकास गर्ने उद्धेश्यले लगाईएको महायज्ञमा आज राप्रपाका सांसद धवलशमशेर राणा र राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पुगेको महायज्ञ प्रचार प्रसार समितिका संयोजक शिवकुमार भुजेलले जानकारी दिनुभयो । महायज्ञमा यही जेठ १३ गते नेकपा माओवादी केन्द्रका उपमहासचिव एबम् पूर्ब शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी हुने कार्यक्रम तय भएको छ भने १५ गते नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आउने कार्यक्रम रहेको संयोजक भुजेलले बताउनुभयो ।

जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि स्थापना गरिएको अक्षयकोषमा हालसम्म ८० लाख ८९ हजार १ सय ९२ हजार रुपैयाँको प्रतिबद्धता घोषणा गरिएको चर्णावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघ दोलखाका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञबाट अक्षयकोषमा नगद २४ लाख २९ हजार १ सय ९२ रुपैयाँ प्राप्त भएको छ । जिल्लाको बैतेश्वर, शैलुङ र मेलुङ गाउँपालिकाले पनि अक्षयकोषमा सहयोग गर्ने घोषणा गरेका छन् । बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले १५ लाख ६० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले १५ लाख रुपैयाँ र मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले १० लाख दिने घोषणा गर्नुभएको छ । महायज्ञमा राजनीतिक दलका नेता तथा व्यवसायी प्रभुराम श्रेष्ठले ११ लाख रुपैयाँ दिने प्रतिबद्धता जनाउनुभएको छ ।

 

single-dsc-ing

 

single-dsc-ing