दोलखा । दोलखामा चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएका दुई वटा विद्यालय हस्तान्तरण भएको छ ।
भूकम्पबाट क्षतिग्रस्त दोलखाका तीन वटा विद्यालय पुर्ननिर्माण गरेको चीन सरकारले दुई वटा बिद्यालय हस्तान्तरण गरेको छ भने एउटा बिद्यालय पुननिर्माणको चरणमा रहेको छ । विनाशकारी भूकम्प गएको ९ वर्षपछि चीन सरकारले करोडौंको लागतमा बनेका दुई वटा बिद्यालयका भवन पुननिर्माण गरी हस्तान्तरण गरेको हो । भूकम्पले ध्वस्त भएको भीमेश्वर नगरपालिका–४ स्थित सर्व मावि जिलु र कालिञ्चोक गाउँपालिकास्थित कालिनाग मावि सिंगटीको विद्यालय भवन पुननिर्माण गरी हस्तान्तरण गरिएको हो ।
दोलखामा चीन सरकारले साँढे २ अर्ब बढी लागतमा तीनवटा सामुदायिक बिद्यालयमा सुबिधा सम्पन्न भवन निर्माण गरिदिने प्रतिबद्धता गरेको थियो । सोही अनुसार दुई बिद्यालयको पुननिर्माण गरेर कालिनाग मावि सिंगटीमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरिएको हो । नवनिर्मित विद्यालय भवनको नेपाल स्थित चीनका आर्थिक वाणिज्य कार्यालयका काउन्सिलर झियू र नेपाल स्थित चिनियाँ दूतावासका सचिव लि छाओको उपस्थितमा सर्व मावि जिलुका प्रधानाध्यापक विश्वमणि चौलागाईँ र कालिनाग माविका प्रधानाध्यापक दाताराम नेपाललाई जेठको पहिलो साता एकैसाथ हस्तान्तरण गरिएको छ । सिनो हाईड्रो व्युरो सिक्सले निर्माण गरेको दुई बिद्यालयको कूल लागत १ अर्ब २० करोड ९० लाख रहेको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको कालिनाग मावि सिंगटीको भवन
२०७७ सालबाट निर्माण सुरु भएको कालिनाग मावि सिंगटीको भवन ६० करोड ४५ लाख लागतमा निर्माण सम्पन्न भएको हो । तीनवटा भवन सहितको सो बिद्यालयमा कक्षाकोठा, पुस्तकालय, कम्युटर, बिज्ञान प्रयोगशाला, क्यान्टिन गरी २९ र शिक्षकहरुको १२ वटा कोठा गरी कुल ४१ वटा कोठाको बिद्यालय भवन निर्माण सम्पन्न भएको कालिनाग मावि सिंगटीका प्रधानध्यापक दाताराम नेपालले जानकारी दिनुभयो ।
यसैगरी, चीन सरकारको सहयोगमा २०७६ साल पुषबाट निर्माण सुरु भएको सर्व मावि जिलुको ३ वटा पक्की भवन बनेको छ । एउटा छात्रावास सहित ५६ वटा कोठाको सो भवन चीन सरकारको तर्फबाट विद्यालयलाई हस्तान्तरण गरिएको हो । निर्माण सम्पन्न भई बिद्यालयलाई हस्तान्तरण गरिएको सो भवन ६० करोड ४५ लाख लागतमा निर्माण सम्पन्न भएको सर्व मावि जिलुका प्रधानाध्यापक बिश्वमणी चौलागाइँले जानकारी दिनुभयो ।
यसैबीच, जिरी मावि जिरीको विद्यालय पुर्ननिर्माण कार्य जारी रहेको छ । २०७६ साल जेठ २८ गते नेपाल सरकार र चिनियाँ सरकारबीच कार्यान्वयन सम्झौता भएपनि २०८० साल बैशाख ४ गते भवन निर्माणको शिलान्यास गरिएको हो । चीन सरकारको सहयोगमा बिद्यालय भवन निर्माणका लागि १ अर्ब ३६ करोड लागतमा सम्झौता भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अवको २८ महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ ।
बिद्यालयका प्रधानाध्यापक कुमार जिरेलका अनुसार भवन निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको छ । जिरी मावि हिमाली आवासीय विद्यालयकोरुपमा शिक्षा विभागसँगको समन्वयमा निर्माण भएको हो भने सर्व मावि जिलु र कालिनाग मावि सिंगटी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण गरिदिने चिन सरकारको प्रतिवद्धता अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकरणको समन्वयमा निर्माण भएको हो ।
चीन सरकारको सहयोगमा निर्माणाधीन जिरी मावि
आवरण तस्वीरः चीन सरकारको सहयोगमा निर्माण भएको सर्व मावि जिलु