
काठमाडौं । नेपाल जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये १० औं नम्बरमा परेको छ ।
‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकाङ्कको अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा रहेको छ । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा परेको हो । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ । जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले बर्सेनी मानवीय तथा आर्थिक नोक्सानी व्यहोर्दै आएको नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ आर्थिक सर्वेक्षणमा उल्लेख छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको मूल्याङ्कन प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशमलव एक डिग्री सेल्सियसले बढिसकेको छ । बढ्दो तापक्रमका कारण मानव समुदाय र पारिस्थितिकीय प्रणालीबीचको सन्तुलन कायम गर्ने चुनौती बढेको छ ।
नेपालले उत्सर्जन गरेको हरितगृह ग्यास पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपालले उत्सर्जन गरेको हरितगृह ग्यास सन् २००० देखि सन् २००८ सम्म घटेको भए पनि त्यसपछिका वर्षमा बढेको छ ।