images
images

सरकारी निकायको एकै वर्षको बेरुजु ९५ अर्ब

  • १३ जेष्ठ २०८१, आईतवार १८:३३

काठमाडौं । सरकारी निकायहरुमा एकै वर्षमा ९५ अर्ब बढीको बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई आज पेश गरेको ६१ औँ वार्षिक प्रतिवेदनले सो बेरुजु देखाएको हो । सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थातर्फको बेरुजु ९५ अर्ब ६० करोड २१ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । सबै कार्यालयको ७८ खर्ब ८० अर्ब ८७ करोडको लेखापरीक्षण गर्दा १ खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको थियो । लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ३२ अर्ब १४ करोड कुल बेरुजुको २५.१६ प्रतिशत सम्परीक्षण भएकोले ९५ अर्ब ६० करोड बेरुजु फस्र्यौट हुन बाँकी रहेको महालेखा परिक्षकको कार्यालयले उल्लेख गरेको छ । सरकारी निकायहरुले अघिल्ला वर्षहरुसम्म फर्छ्योट गर्न बाँकी कुल बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ ।

सङ्घीय मन्त्रालय तथा निकाय मातहतका ३ हजार २७७ कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोड, प्रदेश मन्त्रालय तथा निकाय मातहतका १ हजार २७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोड, स्थानीय तह ७५३ मध्ये ७४६ र गत वर्षको बक्यौता सहित गरी ११ खर्ब ३९ अर्ब १९ करोड लेखा परीक्षण गरेको छ । त्यसबाहेक २१७ समिति र अन्य संस्थाको २ खर्ब ९६ अर्ब ८५ करोड र ९३ सङ्गठित संस्थाको ३६ खर्ब ६१ अर्ब ११ करोडसमेत ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ । यो वर्षको कुल बेरुजुमध्ये २३ अर्ब ४० करोड रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ भने ६५ अर्ब नियमित गर्नुपर्ने छ ।