images
images

यसरी गर्न सकिन्छ माथिल्लो तामाकोशीको शेयर अभौतिकिकरण

दोलखा । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले छिट्टै निष्काशन गर्न लागेको हकप्रद शेयरका लागि शेयरधनीहरुले डिम्याट खाता खोली शेयर अभौतिकीकरण अनिवार्य गर्नु पर्नेछ ।

आयोजनाले अबको बढीमा दुई महिनाभित्र निष्काशन गर्ने तयारी गरिरहेको हकप्रद शेयरका लागि अनिवार्य डिम्याट खाता खोली शेयर अभौतिकीकरण गर्नुपर्ने भएको हो । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले हकप्रद शेयर निष्काशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसअघि शेयरधनीले खरिद गरेको आयोजनाको शेयर बराबरको हकप्रद शेयर करिब एक सय रुपैयाँमा खरिद गर्न पाईने छ । आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयको लागि बाँडफाँड गरिएको शेयर भौतिक प्रमाणपत्र वितरण नगरी शेयरधनीहरुको सुबिधाको लागि सोझै सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकीकरण गर्ने व्यवस्था रहेको छ । जसका लागि डिम्याट खाता अनिवार्य खोल्नु पर्नेछ ।

नावालकको हकमा पनि बैंक खाता र डिम्याट खाता अनिवार्य गरिएको छ । सनराईज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, सनराईज बैँक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु लगायत नजिकका अन्य बैँक तथा बित्तिय संस्थामा सम्पर्क गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साईजको फोटो सहित स्वयम् उपस्थित भई डिम्याट अकाउण्ट अर्थात् हितग्राही खाता खोल्न सकिनेछ ।

नाबालक शेयरधनीहरुको हकमा नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साईजको फोटो, संरक्षकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साईजको फोटो पेश गरी संरक्षकले नाबालकको हितग्राही खाता खोल्न सकिनेछ । आफ्नै बैंक खाता र डिम्याट खाता नभएमा आयोजनाको शेयर किनबेच गर्न, आयोजनाले दिने लाभांश लिन र हकप्रद शेयर हाल्न पाईने छैन । यस्तै, सनराइज क्यापिटल लिमिटेडको वेभसाइड डब्लु डब्लु डब्लु डट सनराईज क्यापिटल डट कम डट एनपि मा गई अपर तामाकोशीको डिम्याट खाता अद्यावधिक गर्ने ठाउँमा अर्थात् अपर तामाकोशी–लोकल–आईपिओ–बिओ आईडि–अपडेटमा गएर पनि अपडेट गराउन सकिनेछ ।

यसका अलवा वेभसाइडमा भएको अपर तामाकोशीको शेयर अद्यावधिक फारम डाउनलोड गरेर परिवारका सबै सदस्यको फारम भरेर सनराइज क्यापिटलमै अनलाइन मार्फत पनि फारम बुझाउन सकिनेछ । डिम्याट खाता खोलिसकेका शेयर धनीले डिम्याट खातामा आफ्नो शेयर जम्मा गर्नका लागि सनराइज क्यापिटल लिमिटेडमा यसअघि शेयर भर्दा बुझाएको फर्मको अर्धकट्टी र आफ्नो डिम्याट खाता नम्बर उपलब्ध गराउनु पर्नेछ । सनराइज क्यापिटलले डिम्याट खाता नम्बर पाइसकेपछि मात्रै सम्बन्धीत शेयरधनीको शेयर कित्ता डिम्याट खातामा जम्मा गरिदिने व्यवस्था छ ।

मृतकको हकमा हकवालाले मृत्युदर्ताको प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र, मन्जुरीनामा र सम्भव भएसम्म वडाको सिफारिस, नागरिकताको प्रमाणपत्र र अपर तामाकोशीको शेयरको अर्धकट्टी लिएर सनराईज क्यापिटलमा जार्नु पर्नेछ । वैदेशिक रोजगारीमा हुनेहरुले भने अनलाईनबाट शेयर अभौतिकीकरण गर्न सक्ने सनराईज क्यापिटल लिमिटेडले जनाएको छ ।