लमजुङ । लमजुङमा पहिरोले ३ घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।
क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका हुन् । गएराति आएको बाढी पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, उनकी इच्छा र नम्रता छोरीहरु बेपत्ता भएका हुन् । घटना भएको स्थानमा फोन सम्पर्कसमेत नभएको लमजुङका डिएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता भएकाहरुको उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।
पहिरोले पुरिदाँ बेसीशहर नगरपालिका–११ चिती स्याउतमा दुई घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएको प्रहरीले जनाएको छ ।
यसैबीच, ओखलढुंगा चिशंखुगढी गाउँपालिकामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परी ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मृत्तकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री घाईते भएका छन् । उनीहरुलाई पहिरोबाट सकुशल उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि लगिएको छ ।