
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली बिहान सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा भोली बिहान सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले भोली बिहान ९ बजे एसईईको नतिजा सार्वजनिक गरिने बताउनुभएको हो । बोर्डको आजै बैठक बसेपनि नतिजा सार्वजानिक गर्नका लागि केही प्राविधिक तयारी नपुगेकाले भोली सार्वजनिक गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । बोर्डले आज नतिजाको डेमो गरेको र सबै प्रक्रिया पुरा गर्दा समय लाग्ने भएकाले भोली बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसअनुसार विद्यार्थीले सैद्धान्तिकतर्फका प्रत्यक विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । गत चैत्र १५ गतेदेखि भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ परिक्षार्थी सहभागि थिए ।