images
images

बागमती प्रदेशका सांसद तारा नारायण श्रेष्ठको गुनासो-‘बजेटमा मन्त्रीले मनपरी गरे’

  • १२ असार २०८१, बुधबार २०:०८

हेटौँडा । बागमती प्रदेशसभाका सांसद तारानारायण श्रेष्ठले मन्त्रीहरुले मनपरि ढंगले बजेट विनियोजन गरेको आरोप लगाउनुभएको छ ।

बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सांसद श्रेष्ठले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना पार्ने गरेको र अन्य योजना छुट्यो भनेर सजिलो जवाफ दिने गरेको भन्दै आक्रोस पोख्नुभएको हो । उहाँले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना हाल्दा जनताले सांसदहरुलाई तिरस्कार, घृणा गर्ने तथा निर्वाचन क्षेत्र बाटै निषेध गर्ने गरेको विषयमा कसले जवाफ दिने भन्दै प्रश्न गर्नुभयो । सांसद श्रेष्ठले मन्त्रीहरुले बजेट ल्याउनुभन्दा एक साता अघिदेखि नै फोन नउठाउने गरेको गुनासो गर्दै सिलिङभित्र दिएको योजना समेत छुटाईएको बताउनुभयो । वन मन्त्रालय, खानेपानी, उर्जा र सिञ्चाई मन्त्रालयमा आँफैले दिएको सिलिङबाट पनि कुनै योजना नपरेको भन्दै उहाँले फोन उठाउनै नभ्याउने, योजना ईन्ट्रि गर्नै नभ्याउने कुरालाई हेर्दा मन्त्री बन्नै जाँगर नभएको जस्तो देखिएको टिप्पणी गर्नुभयो ।

सांसद श्रेष्ठले बजेट आईसकेपछि छलफल गर्नुको औचित्य नरहेको टिप्पणी गर्नुभएको छ । छलफलपछि जे निश्कर्ष निकालिएपनि लागु नहुने भन्दै उहाँले बजेट आईसकेपछि जति छलफल गरेपनि केही परिवर्तन नहुने बताउनुभयो । साथै उहाँले गाउँपालिकाको साना– साना योजनामा समेत अनुगमन र मुल्यांकन हुने गरेपनि प्रदेशका करोडौँको योजनामा कसैले अनुगमन नगरेको बताउनुभयो । करोडौँको योजना सञ्चालन हुँदा पनि सांसदलाई कुनै जिम्मेवारी नदिँदा आँफुहरुले अपजस मात्रै भोग्नुपरेको उहाँको गुनासो छ । सांसद श्रेष्ठले योजनाहरुको अनुमगन नहुँदा सम्पन्न भईसकेका योजनामा पनि बर्षेनी बजेट पर्ने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।