दोलखा । जिल्ला अदालत दोलखाका न्यायधिश कवि प्रसाद न्यौपानेको सरुवा भएको छ ।
न्यायाधिश न्यौपानेको जिल्ला अदालत सर्लाहीमा सरुवा भएको हो । न्यौपाने लामो समय देखि दोलखामा कार्यरत थिए । जिल्ला अदालत दोलखाको न्यायधिशमा भने मकवानपुर जिल्ला अदालत बाट डिल्लीरत्न श्रेष्ठ आउने भएका छन् । यस्तै न्यायपरिषद्ले जिल्ला अदालत काभ्रेपलाञ्चोकका महेन्द्र बहादुर कार्कीको पनि सरुवा गरेको छ । कार्कीको जिल्ला अदालत सिन्धुलीमा सरुवा भएको हो । न्यायधिश कार्कीको दरबन्दी काभ्रेपलाञ्चोक भएपनि सिन्धुली अदालतमै काजमा खटिएका थिए ।
जिल्ला जिल्ला अदालत रामेछापका न्यायधिश मोहनराज भट्टराईको काभ्रेपलाञ्चोक जिल्ला अदालतमा सरुवा भएको छ भने काभ्रेपलाञ्चोकका न्यायधिश शिवबहादुर रानाभाटको जिल्ला अदालत लतिलपुर सरुवा भएको छ । जिल्ला अदालत ओखलढुंगामा झापाबाट टीकाराम आचार्य आउने भएका छन् । यस्तै झापा जिल्ला अदालतका न्यायधिश इन्दिरा शर्माको रामेछाप जिल्ला अदालतमा सरुवा भएको छ ।
आज बसेको न्यायपरिषद् बैठकले दोलखा सहित २ सय २४ जिल्ला न्यायधिशको सरुवा गरेको हो । आजको बैठकले जिल्ला अदालतका २१ जना न्यायधिशका लागि ६३ जनाको सुची पनि सावर्जनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् । न्यायधिश नियुक्तीसम्बन्धी मापदण्डमा न्यायधिशका लागि सुची सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो लिनुपर्ने व्यवस्था छ । यस्तै उच्च अदालतमा रिक्त २७ जना न्यायधिश नियुक्तीका लागि सुचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।










