images
images

भीमेश्वर मन्दिरमा विशेष पूजाआजाका साथ क्षमापूजा, भोली प्रसाद पठाईने

  • ११ श्रावण २०८१, शुक्रबार १४:४८

दोलखा । दोलखा भीमेश्वरको शीलामा पसिना आएपछि आज विशेष पूजाआजाका साथ क्षमापूजा गरिएको छ ।

राष्ट्रपति कार्यालयको तर्फबाट उपसचिव नेतृत्वको टोलीको सहभागितामा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा आज क्षमापूजा गरिएको हो । राष्ट्रप्रमुखको तर्फबाट फुलपाती लिएर उपसचिव नेतृत्वको टोली पनि क्षमापूजामा सहभागी भई आजै राजधानी फर्किएको छ । भीमेश्वर मन्दिरमा आज होम यज्ञ, ग्रह शान्ति, मंगल शान्ति लगायत लघुरुद्री पूजा सहितको क्षमापुजा कार्य समापन गरिएको हो ।

राष्ट्र, राष्ट्र प्रमुख र जनतामा कुनै क्षति नहोस् भन्ने कामनाका साथ राष्ट्र प्रमुख, जनता र मन्दिर व्यवस्थापन समितिको तर्फवाट आज भीमेश्वर मन्दिरमा बलिपूजा सहित क्षमापूजा गरिएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।

भीमेश्वरको शीलामा साउन ५ गते र साउन ९ गते दुईपटक पसिना आएको थियो । भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र प्रमुखकोमा ‘महाप्रसाद’ पठाउने र राष्ट्र प्रमुखकोतर्फवाट सरकारी अधिकारीले क्षमापूजा गराउने प्रचलन छ । क्षमापूजा गर्नुअघि भीमेश्वर मन्दिर परिसरसमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्रनारायण श्रेष्ठले मन्दिरको ईतिहाँस, शिलामा आउने पसिना, यसको महत्व लगायतका बिषयमा जानकारी गराउनुभएको थियो ।

भीमेश्वरमा पूजा गरिएको प्रसाद राष्ट्रपति, प्रधानसेनापति र गृह मन्त्रालयमा बुझाउन भोली मन्दिर व्यवस्थापन समिति लगायतका पदाधिकारीहरु जाने समितिले जनाएको छ ।