images
images

सुनकोसी तेस्रोको वित्तीय ‘मोडालिटी’ ६ महिनामा टुंग्याउने सहमति

  • १० भाद्र २०७९, शुक्रबार ०८:४२

काठमाडौं । सुनकोशी ३ जलविद्युत आयोजनामा लगानी र निर्माण मोडालिटी टुंग्याउन बंगलादेश सहमत भएको छ ।

नेपाल र बंगलादेशबिच उर्जा सहकार्यका लागि गठित उर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितीको बैठकमा विद्युत विकासले तयार गरेको प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी ६ महिनाभित्र तय गर्न बंगलादेश सरकार सहमत भएको हो । ६ महिनापछि बस्ने उर्जा सचिवस्तरीय बैठकमा लगानी मोडालिटीमा सहमति गर्ने गरी काम अघि बढाउनेबारे समझदारी भएको छ । सो सहमतिसँगै अब बंगलादेश पनि नेपालमा जलविद्युत आयोजनामा लगानी गर्न आउने बाटो खुलेको हो । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबिच संयुक्त कम्पनी स्थापना गरेर सुनकोशी ३ अगाडी बढाउन बंगलादेश तयार भएको हो । ६ सय ८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश उत्साहित देखिएको छ । काभ्रे र रामेछापको सीमानामा पहिचान भएको सो आयोजनामा बंगलादेशले लगानी गर्ने इच्छा व्यक्त गरिरहेको थियो । बंगलादेशको विद्युत, उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव रहमान नेतृत्वको टोलीले यसैसाता आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो ।

अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिकाको लुभुघाटमा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताउनुभएको थियो । आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ । सो आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानिय तहका ४५ वटा वडाहरु प्रभावित हुनेछन् । आयोजनाबाट ३ हजार २ सय ३७ हेक्टर जग्गा डुवानमा पर्नेछ ।