images
images

भक्तपुरको मदिरा फ्याक्ट्रीमा नक्कली डबल ब्ल्याक फेला, दोलखाका दुईसहित पाँचजना पक्राउ

  • १० भाद्र २०७९, शुक्रबार १६:२३

काठमाडौँ । ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्याउने गरेको आरोपमा दोलखाका दुई सहित पाँच जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पु¥याउने गरेको आरोपमा दोलखाका हरि वली र विशाल वली तथा रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ तथा भगवान बस्तेलाई पक्राउ गरेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८८४८ भोड्का बरामद गरेको छ । यस्तै, फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खाली बोतल ठुलो परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि कोटेश्वरबाट हरि वलीलाई पक्राउ गरी कोठामा खानतलासी लिएको थियो । सो क्रममा प्रहरीले कोठामा डबल ब्ल्याक, ब्ल्याक लेभल, रेड लेभल र ज्याक ड्यानियल्सका चार कार्टुन सिल प्याक मदिरा बरामद गरेको थियो । गैरकानुनी मदिरासँग थप तीनजना जोडिएपछि प्रहरीले उनीहरूलाई पनि नियन्त्रणमा लिएको हो । त्यसपछि प्रहरी मदिरा उत्पादन हुने स्थानमा पुगेको थियो । ती मदिराहरू नाइट क्लबदेखि दोहोरी साँझसमम्म पुग्ने गरेको प्रहरीले जनाएको छ ।