काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदैछ ।
भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्री ‘कृष्ण जन्माष्टमी’ देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउन लागिएको हो । सनातन धर्मावलम्बी भगवान कृष्णको जन्म भएको दिनको सम्झना गर्दैछन् । सोमबार ६ घडी ५८ पला अर्थात बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि सुरु हुने पञ्चाङगमा उल्लेख छ । पुरायणहरुका अनुसार द्धापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान विष्णु आठौँ अवतारका रुपमा कृष्ण जन्मिएका हुन् ।
कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । ज्ञानयोग्य, कर्मयोग्य र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्धापर युगमा भाद्रकृष्ण अष्टमी अर्थात आजकै मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । कृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा आरधना, प्रवचन, भजन किर्तन गर्नका साथै विशेष गरी महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने गर्छन् ।
कृष्ण जन्माष्टमीका अवसरमा आज मुलुकभरका कृष्ण मन्दिरहरुमा विशेष मेला लागिरहेको छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रुपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध रहेका छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। त्यसैगरी आज नेपालको सुदूरपश्चिम क्षेत्रमा गौरा पर्व पनि मनाइँदैछ। गौरा सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो।