रामेछाप । दोरम्बामा पहिरोको जोखिम रहेका ६५ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरको लेखर्कमा पहिरोका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । विस्थापित भएका एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो ।
हिजो घटनास्थल पुग्नु भएका ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिनुभएको थियो । पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राज्यमन्त्रीले १०\१० हजार प्रदान गर्नुभएको थियो भने घाइतेको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने मन्त्री तामाङले घोषणा गर्नुभएको थियो ।
शुक्रबार राति बस्तीमाथिबाट गएको पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । पहिरोमा परि स्थानीय ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो भने ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी थिइन् ।
पहिरोमा परेका ५५ वर्षीय काले पहरी, ५० वर्षीय झाइपुरी पहरी, ६५ वर्षीया पुड्की पहरी र २१ वर्षीया बिन्दा पहरी बेपत्ता रहेको र उनीहरूको खोजीकार्य जारी रहेको दोरम्बा शैलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले जानकारी दिनुभयो ।